भिटेनको स्वरमा ‘आउटलः दफा २१९’ को नयाँ गीत, कस्तो छ हलमा व्यापारको स्थिति?


हलमा प्रदर्शनरत चलचित्र ‘आउटलः दफा २१९’को नयाँ गीत’ हामी यस्तै त होनी ब्रो’ रिलिज भएको छ। चलचित्र रिलिजको पाँच दिनपछि भिटेनको स्वरमा रहेको गीत सार्वजनिक गरेको हो।

सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु सोनु लागुन, सुमन भण्डारी लगायतलाई देख्न सकिन्छ । यो गीतको भिडियोलाई डिस्कोमा खिचिएको छ । यो चलचित्रको निर्माणपक्षले भिटेनसँग यो गीतको अधिकार नै खरिद गरेर चलचित्रमा समावेश गरेको हो ।


विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा अमित अग्रहरि र निशा गुइडेको लगानी छ । चलचित्रमा सुशील श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

कस्तो छ व्यापारको स्थिति?

रिलिजको पाँचौ दिनसम्म चलचित्रले दर्शकको राम्रो साथ पाइरहेको छ। धरै चलचित्रको भिडमा रिलिज भएको चलचित्रले पाएका शोमा दर्शकको सुखद उपस्थिति रहेको छ । निर्माणपक्षले सार्वजनिक गरेको आँकडामा यो चलचित्रले ४ दिनमा २ करोड ३ लाख ग्रस कलेक्शन गरेको उल्लेख छ । निर्माणपक्षले चार दिनको एकमुष्ट आँकडा सार्वजनिक गरेको हो । नायक सुशील श्रेष्ठले पनि दर्शकहरुको अपार माया पाउँदै चलचित्रले राम्रो कमाई गरिरहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्