‘होस्टेल ३’ को नयाँ गीत ‘रक अन’ रिलिज, कस्तो छ व्यापारिक आंकडा ?
हलमा सफलताको साथमा प्रदर्शन भैरहेको चलचित्र ‘होस्टेल ३’ को नयाँ गीत इन्टरनेटमा रिलिज भएको छ । ‘होस्टेल ३’ का प्रमुख कलाकारहरू पारस बम ‘कुलब्वाय’ र रिहान गिरीको साथमा समीर काजीको स्वर रहेको गीत ‘रक अन’ युट्युवमा सार्वजनिक गरिएको हो। चलचित्रको अन्त्यमा यो गीत राखिएको छ । महेश ज्ञवालीको शब्द तथा सङ्गीत रहेको गीतको एरेन्ज योगेश काजीले गरेका छन् ।

‘होस्टेल ३’ ले पहिलो हप्ता नेपालमा मात्र ४ करोड ३२ लाख ग्रस कलेक्सन गरेको थियो । यो चलचित्र हाल नेपालबाहिर मध्यपूर्व, अस्ट्रेलिया लगायतका देशहरूमा समेत प्रदर्शन भइरहेको छ भने नेपालीहरूको बसोबास रहने प्राय: सबै देशहरूमा रिलिज हुने निर्देशक कँडेलले बताए । इमिरेट्स, बहराइन, कतार तथा अस्ट्रेलियाबाट पनि यसको व्यापारको चर्चा आइरहेको छ ।
गत बिहीबार रिलिज भएयता ‘होस्टेल ३’ को व्यापारको रफ्तार गजबको देखिएको छ । दोस्रो हप्ताको शनिवार पनि चलचित्रको व्यापारमा कुनै कमी नआएको निर्देशक ससान कँडेलले बताए । ‘हामी निरन्तर हल भिजिटमा छौँ र वितरकबाट पनि व्यापार रिपोर्ट लिइरहेका छौँ । दोस्रो हप्तामा पनि व्यापारको उत्साह कायमै छ । दोस्रो शनिवार त झनै व्यापक माहौल देखियो,” कँडेलले भने ।
यस चलचित्रमा पारस बम ‘कुलब्वाय’, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको मुख्य भूमिका रहेको छ । प्रवीण खतिवडाले वार्डेनको भूमिका निभाएका छन् । आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि चलचित्रमा रहेका छन् ।
यस चलचित्रमा माधव शर्माको पटकथा तथा संवाद लेखन तथा एसोसियट निर्देशन रहेको छ । चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । शङ्कर कोइराला कार्यकारी निर्माता हुन्।