‘आउटलः दफा २१९’ मा सुशीलको एक्सनको तारिफ, चलचित्र हेर्ने दर्शक देखिए सन्तुष्ट
बिहिबारदेखि रिलिजमा आएको चलचित्र ‘आउटलः दफा २१९’ले हलमा दर्शक राम्रो तानिरहेको छ । आज शनिबार चलचित्र हेर्न दर्शकको चाप हलमा राम्रै देखियो । काठमाडौंका हलमा दर्शकको उच्च चाप देखिएपछि यसका कलाकार तथा मेकरहरु हल–हलमा पुगे । नयाँ टिम, नयाँ मेकर र केही नयाँ तथा पुराना कलाकारहरुको साथमा तयार भएको यो चलचित्रको मेकिङ र एक्सनको चौतर्फी तारिफ भइरहेको छ ।

चलचित्र हेरेर हलबाट निस्किएका दर्शकले यो चलचित्रको मेकिङ र एक्सनलाई हलिउड र बलिउडका थुप्रै चलचित्रसँग तुलना गरिरहेका छन् ।
४ वर्षपछि नायक सुशील श्रेष्ठ चलचित्रमा फर्किएका थिए । सुशीलको कमब्याक कस्तो होला भन्ने उत्सुकता धेरैको मनमा थियो ।
तर, सुशीलले यतिबेला सबैको तारिफ बटुलिरहेका छन् । सामाजिक संजालमा पनि चलचित्र हेरेर फर्किएका दर्शक, चलचित्रकर्मी र पत्रकारहरुले सुशीलको काम र मिहिनेतको तारिफ गरिरहेका छन् ।

चलचित्र ‘आउटलः दफा २१९’को क्लाइमेक्सको चेजिङको दृश्यले धेरैको ध्यान खिचेको छ । नेपालमा यस्तो खिचाई र दृश्य यसअघि नहेरेको भन्दै दर्शकले प्रतिक्रिया दिएका छन् ।
हलमा पुगेका सुशीललाई दर्शकहरुले उत्साहजनक रुपमा साथ दिएपछि उनी पनि अब निरन्तर काम गर्ने बताउँछन् । आफूहरुले गरेको मिहिनेतको प्रतिफल पाएको सुशील बताउँछन् ।
काठमाडौंमा आयोजित प्रेस शोमा पुगेका अधिकांश पत्रकार तथा कलाकारहरुले पनि यो चलचित्रको मुक्तकण्ठले प्रशंसा गरे । चलचित्रले शनिबारसम्म राम्रो दर्शक पाएको निर्माता अमित अग्रहरि बताउँछन् ।