‘कर्मा’ टिजर: विपिनको एक्सन, उपासनाको आँशु
एक्सन चलचित्र निर्माणमा निर्देशक सौरभ चौधरीले आफुलाई अगाडी बढाई रहेका छन्। ‘अगत्स्य’ निर्देशन गरेर चर्चामा आएका सौरभको अर्को चलचित्र यहि बर्षको अन्त्यमा रिलिज हुँदैछ। विपिन कार्कीलाई पहिलोपटक एक्सन अवतरमा प्रस्ततु गर्दै सौरभले चलचित्र ‘कर्मा’ निर्देशन गरेका छन्।

चैत्र २९ गतेबाट रिलिज तयारीमा रहेको चलचित्रको टिजर शुक्रबार सार्वजनिक भएको छ। विपिनले एक्सनको तयारीका लागी गरेको एक्सरसाइजबाट सुरुवात भएको टिजरले उनको विभिन्न आयामलाई प्रस्तुत गरेको छ। विपिनको एक्सन र भावनात्मक दुवै दृश्य टिजरमा समावेश गरिएको छ। विपिन सहित चलचित्रका प्रमुख कलाकारलाई टिजरमा स्थान दिईएको छ। टिजरमा उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत लगायतलाई देख्न सकिन्छ । विपिन र उपासनाको यो पहिलो सहकार्य हो ।
ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको चलचित्रको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहेको छ । चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।