नेपालकै महँगो रियालिटी शो निर्देशक बने विशाल भण्डारी !
विशाल भण्डारी नेपालि रियालिटी शो निर्देशनमा सफल निर्देशकको रुपमा परिचित रहेका छन्। उनले विभिन्न जनराका रियालिटी शो हरु निर्देशन गरिरहेका छन्। ‘नेपाल आइडल सिजन १’ का असिस्टेन्ट निर्देशक र ‘भ्वाइस अफ नेपाल सिजन १’ का चिफ असिस्टेन्ट निर्देशकको रुपमा काम गरेका विशालले कमेडी रियालिटी शोलाई नेपालमा स्थापित गरेका छन्। ‘कमेडी च्याम्पियन’ का ३ सिजनलाई सफलताका साथमा सम्पन्न गरेका विशाल पछिल्लो समय ‘कमेडी नाइट विथ च्याम्पियन’ को तयारीमा रहेका छन्।

उनै विशाल नयाँ रियालिटी शो को निर्देशकको रुपमा अनुबन्धित भएका छन्। गायन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ को निर्देशकको रुपमा विशाल अनुबन्धित भएका हुन्। यो रियालिटी शोलाई नेपाली टेलिभिजन इतिहासकै ठुलो गायन रियालिटी शोको रुपमा हेरिएको छ। यो शोले नयाँ तथा प्रतिभाशाली गायकहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखेको छ।
यस शोका लागि निर्देशक भण्डारीले हालसम्मकै उच्च पारिश्रमिक लिएको चर्चा चलेको छ । विशाललाई यो विषयमा प्रश्न गर्दा उनले पारिश्रमिकको वारेमा खुलाउन चाहेनन्। उनले भने, “पारिश्रमिकभन्दा पनि काम महत्वपूर्ण हुन्छ। नेपाली संगीत उद्योगमा नयाँ प्रतिभा भित्र्याउने अवसर पाउनु नै मेरो लागि ठूलो कुरा हो।”
विशाल भन्छन्, ‘मैले नेपाल आइडल सिजन १’ का असिस्टेन्ट निर्देशक र ‘भ्वाइस अफ नेपाल सिजन १’ का चिफ असिस्टेन्ट निर्देशकको रुपमा काम गरिसकेपछि कमेडी शो हरु निर्माण गरे। अव फेरी एकपटक गायन रियालिटी शो निर्देशनको जिम्मा पाएको छु। पहिलेका अनुभवलाई प्रयोग गर्दै यो शोलाई उत्कृष्ट बनाउने कोसिस गर्नेछु। ‘

बुझिएअनुसार विशालले यो शो निर्देशनका लागी ३० लाख पारिश्रमिक लिएका छन्। यो संगै उनको कमेडी नाइट्स विथ चाम्पियनको शो अमेरिकामा शो निर्माण कम्पनीले नै गराउने सम्झौता भएको बुझिएको छ।