‘मितज्यू’ मार्फत चलचित्रमा डेव्यु गर्दै तेरिया मगर, साथमा दयाहाङ राई


तेरिया मगरले भारतीय रियालिटी शो मा आफ्नो बलियो उपस्थिति जनाईसकेकी छिन्। उनले ‘डीआईडी लिटिल मास्टर-३’ र ‘झलक दिखला जा-९’ को उपाधि जितेर चर्चा बटुलेकी थिइन्। चर्चामै रहेको समयमा उनलाई धेरै नेपाली म्युजिक भिडियो र चलचित्रबाट अफर पुग्यो। तर उनले कुनै पनि प्रोजेक्टमा काम गरेकी थिईनन्। भारतमा नै उनले सिरिज र सिरियलमा अभिनय गरिसकेकी छिन्।

उनै तेरिया अव नेपाली चलचित्रमा डेव्यु गर्ने पक्का भएको छ। उनले ‘मितज्यू’ चलचित्र मार्फत नेपाली चलचित्र क्षेत्रमा आफ्नो नयाँ यात्राको सुरुवात गर्ने भएकी छिन्। चलचित्रको निर्माण टिमले बुधबार उनलाई मुख्य अभिनेत्रीको रुपमा सार्वजनिक गरेको हो। ‘मितज्यू’ मा तेरियासँगै अभिनेता दयाहाङ राई पनि मुख्य भूमिकामा अनुबन्ध भएका छन् । चलचित्रलाई ‘घरज्वाइँ’ निर्माण टिमले निर्माण गर्नेछ। आगामी तिहारपछि चलचित्रको छायांकन गरिने बताइएको छ ।

अनिल बुढा मगरले निर्देशन गर्ने चलचित्रमा जनक घर्ती मगरको लगानी रहनेछ । चलचित्रले जनजाती समुदायमा रहेको मितेरी साइनोको कथा भन्ने बताइएको छ । चलचित्रको रिलिज मिति पनि घोषणा गरिएको छ । आगामी बर्षको चैत्र २७ गतेबाट चलचित्र रिलिज हुनेछ।

प्रतिक्रिया दिनुहोस्