मल्टिप्लेक्समा ‘होस्टेल ३’ लाई आकर्षक शो, आक्रामक ओपनिङ्गको अपेक्षा


शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘होस्टेल ३’ को अग्रिम बुकिङ्ग खुलेको छ। प्रदर्शन मिति नजिकिए संगै देशभरका मल्टिप्लेक्स हलहरुले चलचित्रको अग्रिम बुकिङ्ग खोलेको हो। चलचित्रले मल्टिप्लेक्समा आकर्षक शो पाएको छ ।

नेपालकै सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजमा करिब ८० शो, दोस्रो ठुलो चेन आइएनआइ सिनेमाजमा १५ शो तथा वन सिनेमाजमा ९ शो, बिग मुभिजमा ५ शो, र एफक्युब सिनेमामा ५ शो, बिएसआर सिनेमाजमा ४ शो समावेश छन् । बुधवार साँझसम्म देशभर करिब १२० शो सङ्ख्याको अग्रिम बुकिङ सुरु भएको छ भने बिहीबार दिउसोसम्म करिब २५० शो प्राप्त गर्ने अपेक्षा निर्माताहरूले गरेका छन् । हलहरूले उपलब्ध गराएको शो सङ्ख्या हेर्दा यस चलचित्रको व्यापक ओपनिङको प्रक्षेपण गरिएको छ ।

‘होस्टेल’ शृङ्खलाका अघिल्ला दुई संस्करण बक्स अफिसमा सफल भएका थिए । यस कारणले नै तेस्रो भागलाई पनि दर्शकको राम्रो साथ मिल्ने अपेक्षा गरिएको छ । यो चलचित्र युवा पुस्तालाई लक्षित छ, जो नेपाली चलचित्रका मुख्य दर्शक वर्ग हुन्, उनीहरूबिच लोकप्रिय हुने सम्भावना छ । ‘होस्टेल ३’ को ट्रेलर र प्रचार-प्रसारले सकारात्मक हाइप बनाएकाले हल सञ्चालकहरूले बक्स अफिसमा राम्रो व्यापार गर्ने अनुमान गरेका छन् । यसले गर्दा उनीहरूले अग्रिम रूपमा नै धेरै शो दिएका छन् ।

निर्माण टिमले डिजिटल प्लेटफर्म, सामाजिक सञ्जाल, सञ्चार माध्यमहरू तथा विभिन्न कार्यक्रमहरूमा प्रभावशाली प्रचार गरिरहेको छ । यस चलचित्रमा युवा कलाकारहरूको नयाँ टोली रहेको छ, जसलाई दर्शकले नयाँपनका रूपमा हेर्नेछन् । साथै, डिजिटल युगका लोकप्रिय अनुहारहरूले अभिनय गरेकोले उनीहरूको फ्यान फलोइङले पनि दर्शक तान्ने सम्भावना छ ।

सशान कँडेलले निर्देशक गरेको यस चलचित्रको मुख्य भूमिकामा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायत रहेका छन् । अभिनेता प्रवीण खतिवडा वार्डेनको भूमिकामा छन् भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि चलचित्रमा रहेका छन् ।

चलचित्रको कथा माधव शर्माले लेखेका हुन्, जसले एसोसियट निर्देशकको भूमिका पनि निभाएका छन् । चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । कार्यकारी निर्माता शङ्कर कोइराला हुन्।

चलचित्रको छायाङ्कन निर्देशन अर्जुन तिवारीले गरेका छन् भने सम्पादन विकास दाहालले गरेका छन् । चलचित्रका एक्सन निर्देशक हिमाल केसी हुन् । सङ्गीतमा अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकल छन् ।

प्रतिक्रिया दिनुहोस्