मधेश आन्दोलनलाई केन्द्रमा राखेर ‘राजागन्ज’ ट्रेलर
दिपक रौनियारको निर्देशनमा तयार भएको चलचित्र ‘राजागंज’ को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच चलचित्रको ३ मिनेट लामो सार्वजनिक ट्रेलरले २०७२ सालमा संविधान जारी भएपछि विरोधमा भएको मधेश आन्दोलनलाई केन्द्रमा राखेर कथा भनिएको छ ।

मधेशमा आन्दोलन चर्किरहँदा अपहरणमा परेका सभासद र स्कूलकी प्रधानध्यापकका छोरालाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनलाई ट्रेलरमा देखाइएको छ । आन्दोलनका बीच प्रहरीले दुई बालकलाई खोज्न अपनाएको रणनीति र आइपर्ने समस्यालाई ट्रेलरले देखाउँछ । प्रहरी इन्सपेक्टरको भूमिकामा रहेकी अभिनेत्री आशा मगराती र अभिनेता दयाहाङ राईबीचको टसन पनि ट्रेलरमा हेर्न पाइन्छ ।
अन्तर्राष्ट्रिय महोत्सवहरुमा प्रशंसा पाएको चलचित्रले नेपाली दर्शकको मन जित्ने रौनियारले विश्वास व्यक्त गरेका छन्। आगामी चैत १ गतेबाट प्रदर्शन आउने चलचित्रमा आशा र दयाहाङ सहित विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठ लगायतको अभिनय छ ।
चलचित्रले भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता विश्वका ठुला सिनेमा महोत्सवमा आफ्नो प्रभाव जमाई सकेको छ । चलचित्रले भेनिसमा १० मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो । प्रतिष्ठित अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’ले निर्देशक रौनियारलाई संसारका नौ उदीयमान निर्देशकको सूचीमा समावेश गरेको थियो । ब्राजिलियन लेखक पाओलो कोहेलोले सार्वजनिक रुपमै रौनियारको प्रशंसा गरेका थिए ।
चलचित्रको निर्माणमा आदि फिल्मस्का तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन् ।