सकारात्मक प्रतिक्रिया सहित युट्युब ट्रेन्डिङमा ‘अञ्जिला’ ट्रेलर
महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित भएर निर्माण भएको चलचित्र ‘अञ्जिला’ को ट्रेलरलाई दर्शकले रुचाएका छन्। शुक्रबार सार्वजनिक भएको ट्रेलर यतिबेला नेपालको युट्युब ट्रेन्डिङको चलचित्र सेक्सनको दोस्रो स्थानमा पुगेको छ । ७ लाख ५० हजार भन्दा बढी दर्शकले हेरेको चलचित्रको ट्रेलरले सकारात्मक प्रतिक्रिया पाएको छ।

ट्रेलरमा एन्जिलाको फुटबलप्रतिको चाहना, क्षमता र घरभित्रबाट बाहिर निस्कन गरेको सङ्घर्षदेखि कप्तान बन्दा सम्मको कथा रहेको छ । दर्शकहरूले एन्जिलालाई आफ्नै वास्तविक कथामा बनेको चलचित्रमा अभिनेत्रीको रूपमा समेत आफैँले निभाएको भूमिकामा अभिनयको प्रशंसा गरेका छन् ।
युट्युबमा ट्रेलर हेरेपछि धेरै दर्शकहरूले भावुक भएको प्रतिक्रिया जनाएका छन् । यस चलचित्रले नेपाली चेलीहरूको कथालाई प्रतिनिधित्व गरेको र यसले नेपाली खेलाडीहरूलाई मात्र नभई यस्तै सङ्घर्षबाट गुज्रिरहेका कैयन नेपाली चेलीहरूलाई समेत प्रोत्साहन गर्ने विश्वास दर्शकहरूले व्यक्त गरेका छन् । देशको नाम राख्न गौरवपूर्ण काम गर्ने खेलाडीको कथामा बनेको यस चलचित्रलाई सबैले हेरी सफल बनाउन आह्वान भएका प्रतिक्रियाहरू समेत युट्युबमा प्राप्त छन् ।
मिलन चाम्सको निर्देशनमा तयार भएको चलचित्र मा प्रेम कुमार श्रेष्ठको लगानी रहेको छ । यस चलचित्रमा एन्जिलाको साथमा, प्रेम कुमार श्रेष्ठ, दयाहाङ राई, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङले पनि अभिनय गरेका छन् । चलचित्रको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा गरिएको छ । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्र सह-निर्मातामा टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया रहेका छन्।