‘लाज शरणम्’ को मर्मस्पर्शी गीत ‘च्यातिएको चोली’ सार्वजनिक
सफलताको साथ प्रदर्शन भैरहेको चलचित्र ‘लाज शरणम् ‘ को नयाँ गीत सार्वजनिक भएको छ । चलचित्रमा समावेश मर्मस्पर्शी गीत ‘च्यातिएको चोली’ सार्वजनिक भएको छ । निर्माण टिमले रिलिजको तेस्रो दिनमा सार्वजनिक गरेको गीतमा सुरज पण्डितको स्वर रहेको छ । गीतमा वसन्त उदासको शब्द र संगीत समावेश गरिएको छ ।

गीतको भिडियोमा डोल्पाका मनोरम दृश्यहरू समेटिएको छ भने, कर्णालीको विपन्न परिवारको कथा देखाइएको छ । भिडियोले एक दम्पतीको दुःखसुख र संघर्षलाई भावुक ढंगले प्रस्तुत गरेको छ । गीतको भिडियो हेर्दा कर्णालीका सुन्दर दृश्यहरू मात्र होइन, त्यहाँका सरल र पवित्र मन भएका मानिसहरूको जीवनशैली पनि देख्न पाइन्छ । चलचित्रका मुख्य पात्र महेश त्रिपाठी र रेणु योगी फिचर्ड रहेको यस गीतले चलचित्रको मुख्य कथावस्तु झल्काएको छ ।
लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ को टिमले निर्माण गरेको ‘लाज शरणम्’ मा महेश त्रिपाठी, सिताराम कट्टेल (धुर्मुस), विजय बराल, रेणु योगी, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, अर्पण थापा, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बू लगायतका कलाकारको अभिनयचलचित्रमा रहेको छ । कुमार कट्टेलको निर्देशन रहेको चलचित्रको निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह-निर्माताको रूपमा रहेका छन् ।