१३ देशमा एकसाथ ट्रेन्डिङमा ‘होस्टेल ३’ ट्रेलर, नेपाल र कुवेतमा पहिलो नम्बरमा


‘होस्टेल’ नेपाली चलचित्र क्षेत्रमा नयाँ स्टार जन्माउने व्राण्डको रुपमा स्थापित रहेको छ । अनमोल केसी, नाजिर हुसेन, स्वस्तिमा खड्का देखि सुशील श्रेष्ठसम्म यहि सिरिजबाट नेपाली चलचित्र क्षेत्रमा स्थापित नाम बनिसकेका छन्। चलचित्रको तेश्रो सिक्वेल ‘होस्टेल ३’ बाट पनि नयाँ कलाकारले आफ्नो यात्राको सुरुवात गर्दैछन्। चलचित्रको ट्रेलर हिजो शुक्रबार सार्वजनिक भएको थियो। सार्वजनिक ट्रेलरले दर्शकको उच्च साथ पाइरहेको छ। यो ट्रेलर रिलिज भएको १ दिन पुरा नहुँदै विश्वका विभिन्न १३ देशहरूमा ट्रेन्डिङमा रहन सफल भएको छ । हाल नेपाल र कुवेतमा युट्युब ट्रेन्डिङको पहिलो स्थानमा ट्रेलर रहेको छ । मुभी सेक्सनमा पहिलो नम्बर ट्रेन्डिङमा रहेको ट्रेलर नेपालको युट्युवमा ओभरल कन्टेन्टमा पनि १२ नम्बर ट्रेन्डिङमा रहेको छ। कुन देशबाट कति दर्शकले हेरे भन्ने आधारमा ट्रेन्डिङको नापतौल हुने गर्दछ। आक्रामक हेराईको कारण नै ट्रेलर पहिलो देखि विभिन्न स्थानमा ट्रेन्डिङमा परिरहेको छ।


नेपाल र कुवेतमा पहिलो स्थान हासिल गरेको यस ट्रेलरले विशेष गरी खाडी मुलुकहरू, युरोपियन देशहरू, बेलायत, जापान, अस्ट्रेलिया तथा कोरियामा यसको उल्लेखनीय प्रभाव देखिएको छ। कतारमा दोस्रो, पोर्चुगलमा तेस्रो, साउदी अरेबियामा चौथो, रोमानिया र संयुक्त अरब इमिरेट्स (UAE) मा पाँचौँ स्थान ओगट्न सफल भएको छ । यस्तै जापान र अस्ट्रेलियामा सातौँ स्थान, माल्टामा पनि सातौँ स्थान, मलेसियामा एघारौँ स्थान, दक्षिण कोरियामा चौधौँ स्थान, र बेलायत (UK) मा अट्ठाइसौँ स्थान ओगटेको छ ।

यो तथ्याङ्क हेर्दा नेपाली चलचित्रको ट्रेलरले नेपाल बाहिर पनि व्यापक दर्शक वर्गलाई आकर्षित गर्न सफल भएको देखिन्छ । सम्भवतः यति धेरै देशमा नेपाली चलचित्रको ट्रेलरको ट्रेन्डिङ पहिलो पटक हो र यो आफैँमा नेपाली चलचित्रको इतिहासमा एक रेकर्ड हुनसक्छ ।

ट्रेलरले कलेज तथा होस्टेल जीवनका अनुभव, रमाइला क्षणहरू तथा चुनौतीपूर्ण परिस्थितिहरूलाई प्रस्तुत गरेको छ । ट्रेलरमा मुख्य भूमिकामा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, र समा पराजुली देखिएका छन् । त्यस्तै, प्रवीण खतिवडा वार्डेनको भूमिकामा छन् भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ प्रतिपक्षी भूमिकामा देखिन्छन् ।

चलचित्रको निर्देशन सशान कँडेलले गरेका छन् भने चलचित्रको कथा माधव शर्माले लेखेका हुन्, जसले एसोसियट निर्देशकको भूमिका पनि निभाएका छन् । चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । कार्यकारी निर्माता शङ्कर कोइराला हुन् भने लाइन प्रोड्यूसर कोसिस राज क्षेत्री रहेका छन् ।

चलचित्रको छायाङ्कन निर्देशन अर्जुन तिवारीले गरेका छन् भने सम्पादन विकास दाहालले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्