‘काल’ अवतारमा सुरज सिंह ठकुरी, ‘एक्लो’ रिलिज कहिले?


प्रदिप शाहीको निर्देशनमा तयार भएको चलचित्र ‘एक्लो’ का क्यारेक्टर पोष्टरले दर्शकमा कौतुहलता थपिरहेको छ। विभिन्न चरणमा सार्वजनिक भैरहेका चलचित्रका भिन्न कलाकारको लुक्सले दर्शकको ध्यान खिचिरहेको छ। यहि बीचमा निर्माण टिमले अभिनेता सुरज सिंह ठकुरीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । डरलाग्दो लुक्समा देखिएका सुरजलाई चिन्न पोष्टरमा गार्हो रहेको छ। ‘काल’ पात्रमा उनि चलचित्र मा देखिदैछन्।

नाम र सार्वजनिक लुक्सले उनि चलचित्रमा नकारात्मक भूमिकामा रहेको संकेत गर्दछ। चलचित्रमा अभिनेता प्रदिप खड्का ‘कल्की’ चरित्रमा देखिदैछन्। उनको पोष्टर सार्वजनिक भैसकेको छ भने कविता नेपालीको लुक्स समेत निर्माण टिमले सार्वजनिक गरिसकेको छ। यो चलचित्रमा सुरज, प्रदिप र कविताको साथमा सुनील थापा, दीया पुन, बेनिशा हमाल, दिनेश डिसी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री, बेलायती अभिनेता जेमी बेकन लगायतको अभिनय छ ।

सन् २०३० सम्म एक घातक भाइरल महामारीका कारण मानिसले पृथ्वी ग्रह छोड्न बाध्य भएको कथा चलचित्रले भन्नेछ । त्यसको ६० वर्षपछि ब्रिटिस अन्तरिक्ष यात्री (बेकन) आफ्नो टोलीसहित हिमालय क्षेत्रमा ल्यान्डिङ गर्छन् । र, पहाडहरुबीचको एक गुफामा लुकेको शहर पत्ता लगाउँछन्, जहाँ तिनीहरुले रहस्यमय व्यक्ति (प्रदीप)लाई भेट्छन्, जो हिमालय क्षेत्रको पौराणिक संरक्षक हो ।

हाल लण्डनमा पोस्ट प्रोडक्सनको काम भइरहेको चलचित्रको सम्पूर्ण कार्य सकिएपछि प्रदर्शन मिति तय गर्ने तयारीमा निर्माता छन् । ‘एक्लो’ को निर्मातामा राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, बागवीर पुन र नवीन सिवा छन् भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन् ।

प्रतिक्रिया दिनुहोस्