टंक र अशोकको ‘मन बिनाको धन’ को मुहर्त, आजै बाट छायांकन सुरु
टंक बुढाथोकीको करियरको एउटा कोसेढुंगा हो गीत, ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’। बाल गायक अशोक दर्जीको पहिलो गीतले अशोक र टंक दुवैको करियरमा नयाँ मोड लियो । अशोकको त जीवन नै टंकले परिवर्तन गर्दिए। उनै टंकले निर्माण तथा निर्देशन गर्न लागेको चलचित्र ‘मन बिनाको धन’ को शुभ मुहर्त सम्पन्न भएको छ।

शुक्रवार बिहान कोटेश्वर महादेव मन्दिरमा पुजा गर्दै चलचित्रको मुहर्त गरिएको हो। सरोज खनालले क्ल्याप,युवा व्यवसायी टिका बुढाथोकीले नरिवल फोरेका थिए भने बाल गायक तथा कलाकार अशोक दर्जी र सन्तोष पन्तले मुहर्त शर्ट दिएका थिए। चलचित्रको आजबाट नै छायांकन सुरुवात गरिएको छ।
चलचित्रको शिर्ष भूमिकामा अशोक दर्जी नै रहेका छन्। चलचित्रमा अशोक संगै सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा,बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा,उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा,बिना राउत, ए.आर बुढाथोकी,बाबु पराजुली,रक्षा श्रेष्ठ,प्रियंका झा,विनय अधिकारी,आर्यन नेपाल,विजय डंगोल लगायतका कलाकारको अभिनय रहनेछ ।
चलचित्रको कथा निर्माता निर्देशक टंक बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । चलचित्रको निर्माता बिष्णु माया मैनाली र सह निर्माता जीपी संग्रौला,लक्ष्मी गिरि,विवेक नेपाल विजया पाण्डे हुन् भने मिनु शर्मा (सपना) कार्यकारी निर्मातामा रहेका छन्।