भ्यालेनटाइन डेमा दुई नेपाली चलचित्र ‘रंगी’ र ‘दु:खी आत्मा’
आज फागुन २ (फेब्रुअरी १४) अर्थात् भ्यालेन्टाइन डे , यो अवसर परेर हलमा दर्शकसंग प्रेम साट्न दुई नेपाली चलचित्र रिलिज भएका छन्। फरक जनराका दुई नेपाली चलचित्र ‘रंगी’ र ‘दु: खी आत्मा’ आजबाट रिलिज भएका हुन्।

सुरेश न्यौपानेको डेव्यु निर्देशनमा तयार भएको चलचित्र ‘रंगी’ सान्भी इन्टरटेनमेन्टको पहिलो प्रस्तुती हो। बाबु छोरीको सम्बन्धको कथामा आधारित भएर तयार भएको चलचित्रमा सलोन बस्नेत प्रस्तुतकर्ता रहेका छन्। सलोन बस्नेत, आयुशी ढकाल, दिलिप रायमाझी, विशाल पहारी, सुमिन गुरुङ्ग लगायतका कलाकारको अभिनय चलचित्रमा रहेको छ। करिश्मा केसी, सक्षम सुवेदी र अनिश गौतमको निर्माण चलचित्रमा रहेको छ।
दिपेन्द्र लामाको निर्देशन र हिमाल कडरियाको निर्माणमा तयार भएको चलचित्र ‘दुखी आत्मा’ ले पुरुषमा हुने यौन दुर्वलताको कथा भन्छ। ट्रेलरका संवादले दर्शकमा राम्रो छाप बनाइरहेको चलचित्रमा दयाहाङ राई, आंचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ्ग, लुनिभा तुलाधर लगायतका कलाकारको अभिनय रहेको छ। दुई फरक जनराका चलचित्रले प्रिमियरमा राम्रो प्रसंसा बटुलेको छ । अव दर्शकले दुवै चलचित्रलाई कसरी साथ दिन्छन् त्यो भने हेर्न बाँकि रहेको छ।