३ सय बढी स्क्रिनमा ‘एक्टर: टेक वान’, दर्शकको प्रतिक्रिया अब्बल चलचित्र
चलचित्र ‘एक्टर: टेक वान’ लाई प्रदर्शनमा आउन निकै सकस पर्यो। रिलिज हेरफेर देखि अदालती झमेलासम्म भोगेको चलचित्र अन्तत: माघ १८ गए शुक्रबारबाट रिलिज भयो। ठीकठाक सुरुवात गरेको चलचित्रले शुक्रबार बेलुकीबाट दर्शकको साथ पाउँदै गएको छ । शनिबार झन्दै ३३० स्क्रिनमा प्रदर्शनमा आएको चलचित्रले दर्शक प्रतिक्रिया उत्कृष्ट पाइरहेको छ । समीक्षात्मक हिसाबले पनि चलचित्रले राम्रो प्रतिक्रिया पाईरहेको छ।
शनिबार दर्शक प्रतिक्रिया बुझ्न चलचित्रका प्रमुख कलाकार प्रदिप खड्का, राजबल्लभ कोईरला, अभिनेत्री दिव्या रायमाझी सहित चलचित्रको टीम हल पुगिरहेका छन्। दर्शकले चलचित्रको खुलेर प्रसंसा गरिरहेका छन् भने ‘एक्टर: टेक टु’को माग गरिरहेका छन्।
चलचित्रको अन्त्यमा आकस्मिक रूपमा कलाकारहरू हल छिरेपछि दर्शकले ‘वि वान्ट टेक टु’ को नारा लगाएका थिए ।
चलचित्र हेरेका दर्शकले क्लाइमेक्सको तारिफ गरेका छन् । राजन भुषालको निर्देशनमा तयार भएको चलचित्रमा प्रदिप, आना, दिव्या, राजबल्लभको साथमा दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौला लगायतका कलाकारहरूको अभिनय रहेको छ।
चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । यस अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन् ।