A vertical shot of the black cat in the dark darkness

‘पीडा पाएर पनि खुशी हुने पात्रको कथा हो मायाबी’- निर्देशक दिवाकर भट्टराई


फागुनको १४ गते महाशिवरात्रीको अवसर पारेर चलचित्र ‘मायाबी’ रिलिजमा आउँदैछ । यो चलचित्रको ३ वटा गीत र केही पोस्टर सार्वजनिक भइसकेका छन् । चलचित्रलाई दिवाकर भट्टराइले निर्देशन गरेका हुन् । लभ स्टोरी चलचित्र निर्देशनमा दिवाकर अब्बल रहेका छन् । तर, यसपटक लभ स्टोरी कथा भएपनि आफ्नो मनको कथा भन्न पाएकोमा दिवाकर खुशी देखिए ।


के हो त ‘मायाबी’, दिवाकर भन्छन्–‘मायाबी भनेको शाब्दिक अर्थमा सुन्दर जाल हो । आकर्षण हो । मायाबाट दुनियाँ अलग रहन सक्दैन । मायाले नै संसार बाँधेको छ । यसैले, मायाको प्रतिक हो मायाबी । बाबु आमा, छोराछोरी, प्रेमी प्रेमिका नै किन नहोस् ? जो कोहीको पनि त्याग, जुनुन हुन्छ । मायाबीले यही कथा भन्छ ।’

दिवाकर अगाडि थप्छन्–‘दुनियाँमा प्रेम पाउनेको कथा भन्दा पनि त्याग्नेको कथा नै मजबुत हुन्छ । पीडा पाएर पनि खुशी हुने पात्रको कथा हो मायाबी । प्रेमको त्यही त्यागको कथामा हामीले चलचित्र बनाएका छौं ।’ दिवाकर पोखराको सेरोफेरोमा खिचिएको एउटा सामान्य वर्गको परिवारको कथामा यो चलचित्र बनाएको बताउँछन् । दिवाकरले अगाडि भने–‘पाएर गुमाउन सक्नुहुन्छ, तर गुमाएर पनि पाइरहनु मायाबी हो ।’

यसपटक दर्शकले फरक स्वादको प्रेमकथा यो चलचित्रमा हेर्न पाउने उनको तर्क छ । उनले भने–‘खुशी र सुख भन्ने फरक कुरा हो । कहिलेकाही हामी जहाँ बाँचिरहेका छौं, सुख खोज्दा खुशी हराएको हुन्छ । सामान्य एउटा मानिस कुन परिवेशमा खुशी हुन सक्छन् र सुख अनुभुती गर्छ भन्ने कथामा यो चलचित्र बनेको छ । जीवनमा कुनै व्यक्ति नकारात्मक कुरा पनि खुशी हुनसक्छ । धनाढ्यका लागि पैसा कमाउनु खुशी होला, सामान्य व्यक्तिका लागि नयाँ कपडा किन्दा खुशी मिल्न सक्ला । हामीले यस्तै यस्तै कथा चलचित्रमा भनेका छौं ।’


दिवाकर यो चलचित्रबाट आफूलाई असन्तुष्टि मिलेको बताउँछन् । उनले भने–‘यो मैले मेरो मनबाट बनाएको चलचित्र हो । म रोम कोम चलचित्रको निर्देशक हुँ । मैले मनदेखि भन्न खोजेको कथा हो मायाबी । यो कथा भन्न सक्छु भनेर नै मैले बनाएको हो । म मायाबीबाट आफ्नो करिअर सुरु भएको मान्छु । यो दिवाकर भट्टराइले भन्न चाहेको कथा हो । मैले यसअघि बनाएका चलचित्रमा मेरो कथा थिएनँ । मैले ती चलचित्रमा एउटा निर्देशकको रुपमा काम गरे होला । म कस्तो निर्देशक हुँ भनेर यसबाट भन्न चाहन्छु ।’
पल शाह, दीपिका प्रसाँई, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ लगायतका कलाकारहरुले यो चलचित्रमा अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्