‘केटि हराएको सुचना’ प्रति दर्शकको चासो बढ्दै, २ सय महिलाले एकसाथ हेरे
गएको शुक्रबारबाट रिलिज भएको चलचित्र ‘केटि हराएको सुचना’ को व्यापार ठीकठाक रहेको छ। समिक्षा राम्रो प्राप्त गरे पनि व्यापारिक हिसावले सोचेजस्तो प्रदर्शन चलचित्रले गर्न सकेको छैन। विस्तारै दर्शकको साथ पाइरहेको चलचित्रलाई महिला उद्यमी संघ नेपालका २ सय बढी सदस्यहरुले काठमाडौंको जमलस्थित विश्वज्योती सिनेप्लेक्सको एउटा हल नै ‘बुक’ गरेर हेरेका छन्।
मंगलबार हल नै बुक गरेर पुगेका उद्यमीसंग भेट्न चलचित्रका निर्देशक दीपेन्द्र गौचन र अभिनेत्री सृष्टि श्रेष्ठ हलमै पुगेका थिए । चलचित्र हेरेपछि महिला उद्यमीहरुले कथावस्तु, कलाकारको अभिनय र लोकेसन मनपरेको प्रतिक्रिया दिए । संघकी एक सदस्यले चलचित्र महिलामुखी रहेको धारणा व्यक्त गर्दै मधेश आन्दोलनलाई पनि सम्झाएको बताएकी थिइन्।
बुधबारबाट प्रदर्शनमा आउने भनिएको चलचित्र ‘एक्टर : टेक वान’ नाम विवादका कारण रिलिज रोकिंदा चलचित्रलाई थप फाइदा हुने देखिएको छ । बुधबार र बिहिबारको बिदा र शुक्रबार र शनिबारको फाइदा चलचित्र उठाउने विश्वास निर्माण टिमले गरेको छ ।चलचित्रमा सृष्टि श्रेष्ठ, नाजिर हुसेन, सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर लगायतको अभिनय छ ।