A vertical shot of the black cat in the dark darkness

‘एक्टर’ को ट्रेलर हाइप: नेपालसंगै विदेशमा एकसाथ प्रदर्शन हुँदै


‘एक्टर: टेक वन’ चलचित्रको चर्चा दर्शक माझ आकर्षक रहेको छ । चलचित्रको पोष्टर देखि ट्रेलर सम्मले दर्शकमा कौतुहलता पैदा गरिरहेको छ । माघ १६ गते बुधबारबाट रिलिज तयारीमा रहेको चलचित्रको ट्रेलरले बनाएको हाइपले नेपालसंगै विदेशमा पनि प्रदर्शनको ढोका खुल्ला गरेको छ । नेपालसँगै विश्वका अन्य विभिन्न मुलुकमा रहेका नेपाली दर्शकमाझ चलचित्र रिलिज हुने भएको छ । नेपालीहरूको बसोबास रहेका विभिन्न देशहरूमा यो चलचित्र केही देशमा नेपालसँगै एकसाथ र केही देशमा दोस्रो हप्तादेखि प्रदर्शन गरिनेछ ।

ट्रेलरले पाएको लोकप्रियतासँगै चलचित्रको ओभरसिज अधिकार धमाधम बिक्री भइरहेको छ । अमेरिकाको रिलिज अधिकार लिभेन्ट्स स्टुडियो र प्रोजेक्ट ऊर्जा, क्यानडाको अधिकार अस्त्र इभेन्ट्सले लिएको छ । यस्तै, पुरै युरोपमा निमा भुसालको नेतृत्वमा रहेको क्या दामी इभेन्ट्सले आइ पोपर्ससँगको सहकार्यमा रिलिज गर्दैछ । अस्ट्रेलिया र न्यूजिल्यान्डमा गिरीश इभेन्ट एन्ड इन्टरटेनमेन्ट र इस्सा भाइव इभेन्टले रिलिज गर्दैछन् भने जापानमा सचिन आचार्यले विभिन्न कम्पनीहरूको सहकार्यमा रिलिज गर्दैछन् । जापान र अमेरिका रिलिजको लागि चलचित्रका अभिनेता प्रदिप खड्का आफैँ जाने भएका छन् । नेपाल रिलिज पछि उनी त्यसतर्फ लाग्नेछन् । मध्यपूर्वका देशहरूमा पनि रिलिजको तयारीको अन्तिम चरणमा रहेको निर्माता थमन कुमार भण्डारीले बताए ।


अधिकांश सकारात्मक प्रतिक्रियासहित ट्रेलरले ३३ लाख बढी भ्युज पाएको छ। ट्रेलर हेरेका दर्शकहरूबाट चलचित्रको कथा, प्रस्तुति, र अभिनेता/अभिनेत्रीहरूको अभिनयप्रति सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ । यो चलचित्रले ओभरसिज बजारमा पनि नेपाली चलचित्रको बजारलाई थप उचाइमा पुर्‍याउने विश्वास गरिएको छ ।

राजन भुसालद्वारा निर्देशित चलचित्रमा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौला लगायतका कलाकारहरूको अभिनय रहेको छ। चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्