छविराज ओझा: चार विवाह नै असफल, शिल्पालाई ४ करोडको घर
निर्माता छविराज ओझा नेपाली चलचित्र क्षेत्रमा बाघ निर्माताको रुपमा परिचित रहेका छन्। उनले आफ्ना दर्जनौ सुपरहिट चलचित्र मार्फत सुपरस्टार लाई जन्म दिएका छन्। चलचित्र वितरणमा पनि उनि सफल छन्। नेपाली चलचित्र क्षेत्रमा उनको दवदवा आकर्षक रहेको थियो। तर जति उनि चलचित्र क्षेत्रमा सफल छन्, त्यति नै व्यक्तिगत जीवनमा असफल रहेका छन्। उनले चारवटा विवाह गरे , तर चारवटा नै असफल भए। पछिल्लो विवाह उनले अभिनेत्री शिल्पा पोख्रेलसंग गरेका थिए। उनिसंगको विवाह टुटेको बर्षौ भयो।

तस्विर: सवस्त इन्टर इन्टरटेन्मेण्ट
झन्डै ५ बर्षबाट चलिरहेको अंश मुद्धा अन्तत: टुंगो लागेको छ। बर्षौबाट सम्पती रोक्कामा परेका छवि अब स्वतन्त्र भएका छन्। तर यो स्वतन्त्रताको मुल्य भने उनले महँगो चुकाउनु पर्यो। झन्डै ४ करोड बारबारको घर उनले शिल्पाको नाममा गर्दै अंश मुद्धा टुंग्याएका छन्। तर यो बीचका बर्षमा सम्पती रोक्का हुँदा उनले त्यो भन्दा बढी गुमाउनु पर्यो। चलचित्र निर्माणमा उनि सक्रिय हुन् सकेका छैनन्। काठमाडौंको गौरीघाटमा रहेको करिब पाँच आना क्षेत्रफलमा बनेको साढे दुई तले घर छविले शिल्पालाई दिएका छन् । शिल्पा परिवार सहित केहि समय अगाडी नै उक्त घरमा सरेको समेत बुझिएको छ।
छवीले शिल्पासंग २०७३ साल असार २९ चौथो विवाह गरेका थिए। गोप्य राखिएको विवाहको तस्विर उनीहरुको सम्बन्ध बिग्रिएपछि सार्वजनिक भएको थियो। विवाहको तीन बर्षपछि शिल्पाले श्रीमानबाट असुरक्षित भएको भन्दै प्रहरीमा निवेदन दिएपछि विवाहको कुरा सतहमा आएको थियो। घरेलु हिँसाको पिडित भएको भन्दै उनले केहि मिडियामा अन्तर्वार्ता दिएकी समेत थिइन्। सोहि बर्ष जिल्ला अदालत काठमाडौंमा सम्बन्ध विच्छेद र मानाचामलको मुद्दा शिल्पाले हालेकी थिइन्। २०७९ मा अदालतले शिल्पाको पक्षमा फैसला सुनाउदै छविले आफ्नो आधा सम्पत्ति शिल्पालाई दिनुपर्ने आदेश गर्यो ।
छविले झन्डै १० करोड बराबर ऋण देखाएपछि अंशबन्डामा कुरा मिलेको थिएन। सम्पति आधा पाउँदा ऋण समेत आधा बेहोर्नुपर्ने गर्दछ। दुवै जनाको कुरा नमिल्दा लामो समयसम्म समाधान नभएको अंशबन्डामा अन्तत: शिल्पा एक घर लिन तयार भएपछी टूङ्गिएको हो।
छविराज ओझा अहिले ६० बर्षका भए। पहिलो विवाह उनले हेमा संग गरेका थिए । १९ वर्षमा प्रेम विवाह गरेका छवि र हेमा विवाहको १० बर्षपछि अलग भएका थिए। गुमनाम हेमालाई छवि र शिल्पाविरुद्ध बहुविवाहको मुद्दा हाल्ने समयमा देखिएको थियो। आफ्नो सम्बन्ध बिच्छेद नभएको र बहुविवाह गरेको भन्दै हेमाले दुवै विरुद्ध मुद्धा हालेकी थिइन्। तर अदालतले उनको विपक्षामा फैसला सुनाएको थियो।
छविले दोश्रो विवाह अभिनेत्री गीताञ्जली सुनार संग गरेका थिए। ‘नाता’ चलचित्र मार्फत डेव्यु गराएका छविले २०५० सालमा गितान्जलीलाई आफ्नी श्रीमती बनाएका थिए। विवाहको पाँच बर्षपछि गितान्जलीले आत्माहत्या गरिन्। दुवैबाट एक छोरा रहेका छन् ।
छविले अभिनेत्री रेखा थापासंग तेश्रो विवाह गरे। आफैले निर्माण गरेको चलचित्र ‘हिरो’ मार्फत रेखालाई छविले डेव्यु गराएका थिए । पछि दुवैले विवाह गरे। नेपाली चलचित्र क्षेत्रमा रेखा स्टार बनिन्। अहिले पनि रेखाको नाम नेपाली चलचित्र क्षेत्रमा गर्विलो रहेको छ। तर छवि- रेखाको वैवाहिक सम्बन्ध सुमधुर हुन् सकेन। वैवाहिक जीवनमा दरार आयो र दुवै छुट्टिए । तर रेखा र छविको व्यतिगत सम्बन्ध भने राम्रो रहेको छ। रेखाले छविसंग अंश नलिई सम्बन्ध विच्छेद गरेकी थिइन्। दुवैले एकअर्काको प्रसंसा अहिले पनि गर्ने गर्दछन्। शिल्पासंग विवाह गर्ने भएपछी २०७३ सालमा दुवैले कानुनी रुपमा डिभोर्स गरेका थिए। अंशको विषयमा भने लिएको र नलिएको बेलाबेला बहसको बिषय बन्दै आएको छ।