महोत्सवलाई चलचित्र प्रमोशनको हतियार बनाउदै पल शाह
अभिनेता पल शाहको महोत्सव क्रेज कति सम्म रहेको छ उनकै सामाजिक संजाल हेरे पुग्छ। उनी लगातार महोत्सवमा व्यस्त भैरहेका छन् । दर्शक उनलाई हेर्न हरेक महोत्सवमा भिड सृजना गर्ने गर्दछन्। देशको पश्चिमी भागेमा त उनको क्रेज झनै लोभलाग्दो रहेको छ।
महोत्सवमा भ्याई नभ्याई रहेका पल हरेक दिन जस्तो आफ्नो प्रस्तुती दिईरहेका छन्। उनै पल मुख्य भूमिकामा रहेको चलचित्र ‘मायावी’ फागुन १४ गतेबाट रिलिज हुँदैछ। पलले महोत्सवलाई नै आफ्नो चलचित्र प्रमोशनको हतियार बनाउन थालेका छन् । चलचित्रमा समावेश चलचित्रको गीतमा नाच्ने देखि चलचित्रको टिसर्ट लगाएर महोत्सवमा पुग्ने पलले गरिरहेका छन्। उनले, बेनीमा आयोजना भएको महोत्सवमा चलचित्रको ‘टल टल’ बोलको गीत रिलिज गरेका थिए । उनी बारा पुगेर फेरि यही गीतमा दर्शकसँग झुमेका छन् । पलले दर्शकलाई चलचित्रको बारेमा प्रश्न सोध्ने र टि-सर्ट गिफ्ट गरिरहेका छन्।
दर्शकसंगको यो प्रत्यक्ष अन्तरक्रियाले पल चलचित्रलाई लिएर उत्साहित देखिएका छन्। अब महोत्सवमा झुमेका कति दर्शक हलसम्म पुग्ने हुन त्यो भने हेर्न बाँकी रहेको छ।
दिवाकर भट्टराइको निर्देशनमा तयार भएको चलचित्रमा पलको साथमा दीपिका प्रसाँई, सुशिल सिटौला, प्रशान्त ताम्राकार, करिश्मा श्रेष्ठ, नव–नायक समिम खान लगायतका कलाकारहरुको अभिनय छ ।
दर्शकले लामो समयदेखि एक विशुद्ध प्रेमकथामा बनेको चलचित्र हेर्न नपाइरहेको समयमा ‘मायाबी’ रोजाइमा पर्ने विश्वास निर्माणपक्षको छ ।