भक्तपुरको सल्लाघारी सुशान्त केसीको कन्सर्ट
युवापुस्तामा गायक तथा गीतकार सुशान्त केसी क्रेज गज्जबको रहेको छ। आफ्ना गीत मार्फत लाखौ दर्शक कमाएका केसीको कन्सर्टमा दर्शकको भीड पनि व्यापक हुने गर्दछ। ‘बार्दली’, ‘सारङ्गी’, ‘साथी’ र ‘आमा’ जस्ता हिट गीत दिएका केसीले नेपालमा करिब साढे दुई वर्षपछि आफ्नो प्रस्तुती दिने भएका छन्। आउँदो मार्च ८ मा भक्तपुरको सल्लाघारी ग्राउन्डमा सुशान्तले आफ्नो प्रस्तुती दिनेछन्।
उक्त कन्सर्टबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै केसी लामो समयपछि काठमाडौं उपत्यकामा हुन लागेको कन्सर्टलाई लिएर उत्साहित रहेको बताए । उनले भने, “काठमाडौंमा प्रस्तुति दिनु सधैं विशेष अनुभव हो। समर्थकहरूको माया मेरो प्रेरणा हो र मार्च ८ मा सबैलाई संगीतको यो यात्रामा सहभागी गराउन उत्साहित छु ।”
कन्सर्टका लागि टिकट खल्ती एपमार्फत खरिद गर्न सकिनेछ । आयोजकका अनुसार टिकटको माग उच्च रहने भएकाले समयमै बुकिङ गर्न आग्रह गरिएको छ । सुशान्तका अनुसार दर्शकले सो अवसरमा नयाँ एक ट्रयाक सुन्न पाउनेछन् । उनले भने, “यो कन्सर्टकै लागि भनेर मैले गीत तयार गरिरहेको थिएँ ।”
कन्सर्टका लागि टिकट मूल्य साधारण ९९०, फ्यानपिट १४९९, भीआइपी २४९९ रुपैयाँ तोकिएको छ । खल्ती एपले आइतबारदेखि नै टिकट विक्री सुरु भइसकेको जनाएको छ । आयोजकले कन्सर्टमा करिब १५,००० दर्शक उपस्थित हुने अपेक्षा गरेको छ। कन्सर्टको सुरक्षा प्रबन्ध चुस्त बनाउन स्थानीय प्रशासनसँग समन्वय गरिएको आयोजकले जनाएको छ । एसकेसी इंक र द रोयल नेपाल इभेन्ट्सको संयुक्त आयोजनामा कन्सर्ट हुँदैछ ।