कलाकारको बलियो टोलीसहित ‘महाभोज’ को मुहर्त पूजा
दिनेश राउतको निर्देशनमा तयार हुने चलचित्र ‘महाभोज’ को मुहूर्त पूजा गरिएको छ । मङ्गलवार बिहान काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा चलचित्रको टिम सहभागी रही विशेष पूजा गरिएको हो ।
पूजामा चलचित्रका कलाकारहरू आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतको उपस्थिति रहेको थियो । साथै, चलचित्र प्राविधिक तथा निर्माण समूह उपस्थित थियो । पोखरा आसपासका क्षेत्रमा करिब ४५ दिन छायाङ्कन हुने यो चलचित्रको टिम बुधवार त्यसतर्फ जाने बताइएको छ ।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको ब्यानरमा निर्माण हुने यो चलचित्रका निर्माता यसअघि ‘नाङ्गो गाउँ,’ ‘दुखी आत्मा’ जस्ता चलचित्रहरूको निर्माण गरेका हिमाल कडरिया हुन् । कार्यकारी निर्माताहरू किरण नेपाली र सुदिप ढकाल हुन् ।