लोकप्रिय बन्दै ओटिटी प्लेटफर्म ‘एमएसएम’
कोरोना लकडाउनको समय र त्यसपश्चात नेपाली दर्शकले ओटीटी प्लेटफर्मलाई चलचित्र हेर्ने विकल्पको रुपमा प्रयोग गरे। विदेशी ओटीटी प्लेटफर्ममा चलचित्र हेरेका दर्शक नेपाली चलचित्रका लागी उपयुक्त ओटीटी प्लेटफर्म खोजीमा रहेका थिए। केहि ओटीटी प्लेटफर्म आए पनि उपयुक्त र सहज मध्यमको अभाव रहेको थियो। यहि अभाव पूर्ति गर्न दशैंको अवसरमा सार्वजनिक गरिएको ‘एमएसएम’ ओटीटी प्लेटफर्मले छोटो समयमा नै ठूलो लोकप्रियता हासिल गरेको छ। यस एपमा नयाँ नयाँ नेपाली चलचित्रहरु हरेक साता उपलब्ध गरिन थालेपछि दर्शकहरूले यसलाई निकै रुचाएका छन्। अहिले यो एपमा ‘महाजात्रा’, ‘दिमाग खराब’, ‘खुस्मा’, ‘फर्की फर्की’ जस्ता फिल्महरू सार्वजनिक भइसकेका छन् र ३ लाखभन्दा बढी डाउनलोड पनि भइसकेको छ।
नेपालमा धेरै चलचित्र युट्युवमा नै रिलिज हुने गरेका छन्। फ्रिमा युट्युबमा चलचित्र हेर्न दर्शकलाई मिले पनि यसले निर्मातालाई भने खासै फाइदा हुने गरेको छैन। ओटीटी प्लेटफर्ममा विस्तारै चलचित्र हेर्ने दर्शकको भिड बढ्नु र निर्माता पनि आफ्ना चलचित्र यता रिलिज गर्न उत्साहित हुनुले पनि ओटीटीको विस्तार बढ्नेमा ‘एमएसएम’ एप ढुक्क रहेको छ।
युट्युबमा निशुल्क उपलब्ध हुने चलचित्रहरूले दर्शकलाई हलसम्म जान प्रोत्साहित गर्न सकेको छैन। यद्यपि, ओटीटी प्लेटफर्महरूले दर्शकलाई थोरै शुल्क तिरेर आफूलाई अनुकूल समयमा चलचित्र हेर्ने अवसर दिन्छ, जसले निर्माताहरूलाई राम्रो आम्दानीको अवसर प्रदान गर्न सक्छ। यसरी ओटीटी प्लेटफर्मले हल नपाउने चलचित्रहरूलाई पनि नयाँ जीवन दिएको छ।
‘एमएसएम’ एपको विशेषता भनेको यसले मोबाइल, गुगल टीभी, एन्ड्रोइड टीभी, एमाजोन फायर स्टिक टिभी, सामसुङ टीभी, एलजी टीभी, एप्पल टीभी, हिसेन्स टीभी, भिजियो टीभी, रोकु टीभी एप र कम्प्युटरमा पनि उपलब्ध छ। यसैले, हरेक वर्गका दर्शकहरूले आफूले मनपर्ने चलचित्रहरू सजिलै हेर्न पाउँछन्। यस सुविधाले ‘एमएसएम’ एपप्रति दर्शकहरूको आकर्षण अझ बढाएको छ।