धिरज र मिरुनाको ‘कुस्ती’ मा भेषभूषा पार्टनर आइआइएफटी
कलाकार बुद्धी तामाङको निर्माण रहने चलचित्र ‘कुस्ती’ भेषभूषा पार्टनरको रुपमा आइआइएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइन जोडिएको छ । मंगलवार आइआइएफटीका तर्फबाट प्रमुखद्वय सन्नी सुब्बा र उर्जा मानन्धर र चलचित्रको तर्फबाट निर्देशक अनिल योञ्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । ‘कुस्ती’ मा अभिनेता धिरज मगर र अभिनेत्री मिरुना मगरले लगाउने पहिरनको डिजाइन आइआइएफटीका २४ विद्यार्थीले गर्नेछन्।
निर्देशक योञ्जनले भने,‘हामीले आइआइएफटीमा अध्यनरत विद्यार्थीलाई फेशनको माध्यमले चलचित्रसँग जोडेका छौँ । उहाँहरूको नवीनतम सोचले हामीले कल्पना गरेको पात्रलाई मुर्तरुप दिनेमा विश्वस्त छौँ ।’
कलाकारद्वय धिरज र मिरुनाले आइआइएफटीसँग पहिलोपटक सहकार्य गर्न लागेको भन्दै खुसी व्यक्त गरे । उनीहरूले आफ्नो पहिरन बारे विमर्श गर्दै केही पोशाक ट्रायल पनि गरेका छन् । उक्त अवसरमा निर्देशक अनिल र कलाकारद्वय धिरज र मिरुनाले आइआइएफटीका विद्यार्थीसँग अन्तरक्रियासमेत गरेका थिए ।
अनुषा सिनेमावुड पिक्चर्स प्रालीको व्यानरमा बन्ने चलचित्रमा सम्बन्धमा रहेको एक जोडीको प्रेम कथामा तयार हुनेछ । छुटिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको प्रेम कथा रहेको चलचित्र आउँदो फागुन पहिलो सातादेखि छायाङ्कनमा जाने तयारीमा छ । चलचित्र आउँदो वर्ष २०८२ को भदौमा प्रदर्शन हुनेछ ।