बलिदान’ को छायाङ्कनको लागि ४२ फिट अग्लो कालीमाताको भव्य मूर्ति तयार
सन्तोष शेनको निर्माण तथा निर्देशनमा तयार भैरहेको चलचित्र ‘बलिदान’ दर्शकका लागी प्रतिक्षित रहेको छ। कलाकारका कारण नै चर्चामा रहेको यो चलचित्रको मेकिङ्गका लागी शेनले कुनै कसर बाँकि राखेका छैनन्। यहि बीचमा निर्माण टिमले चलचित्रका लागी ४२ फिट अग्लो मुर्ति तयार गरेको छ । चलचित्रको कथा अनुरूप, दानवी प्रवृत्तिको अन्त्य गर्ने देवी कालीको चण्डी स्वरूपलाई दर्साउने ४२ फिट अग्लो विशाल मूर्ति निर्माण गरिएको छ ।
चलचित्रका निर्देशक सन्तोष सेनले नेपालभर खोजी गर्दा पनि उपयुक्त मूर्ति नभेटेपछि, निर्माण टोली भारतको कलकत्तामा गएर त्यहाँका कुशल कालिगडहरूसँग मिलेर यो मूर्ति तयार गरिएको बताए । “चलचित्रका लागि हामीलाई एउटा अद्वितीय र विशाल कालीमाताको मूर्ति चाहिएको थियो । देशभर खोजी गर्दा पनि हामीले आफ्नो चाहनाअनुसारको मूर्ति पाएनौँ । अन्ततः, हामी भारतको कलकत्ता पुग्यौँ । त्यहाँका कुशल कालिगडहरूसँग मिलेर ४२ फिट अग्लो काली माताको मूर्ति निर्माण गर्यौँ,” सेनले बताए ।
मूर्ति निर्माणको यो यात्रा चुनौतीपूर्ण रहेता पनि मोरङको हसिना सिमसारस्थित बुढासुब्बा मैदानलाई भने यसले नयाँ पहिचान दिएको छ । चलचित्रको छायाङ्कन नसकिँदै ‘काली चौर’का रूपमा परिचित यो स्थान चर्चित स्थल बनेको छ । यस क्षेत्रमा निर्माण गरिएको मञ्च र २०० भन्दा बढी स्टलहरूले स्थानीयलाई रोजगारीका अवसर प्रदान गर्नुका साथै एउटा मिनी बजार सञ्चालनमा ल्याएको निर्देशकले जनाए ।
चलचित्रका निर्देशक सन्तोष सेनका अनुसार, ‘बलिदान’को छायाङ्कन लगभग पूरा भइसकेको छ । छायाङ्कन सकिएपछि टिजर सहित चलचित्रको रिलिज मिति औपचारिक रूपमा घोषणा गरिने उनले बताए । ‘बलिदान’ को कथा नेपालको सार्वभौम भूमिमा भइरहेको अन्याय र समाजका तथाकथित नाइकेहरूको विरुद्धको सङ्घर्षमा आधारित छ । ‘आसुसेन फिल्म्स प्रा.ली.’ को प्रस्तुति रहेको यस चलचित्रमा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी सह-निर्माताको भूमिकामा छन् ।