युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा ‘ऊनको स्वीटर’ गीत, विपिन र मिरुनाको जोडी चर्चामा
वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर ’को गीत ‘मखमली’ले रिलिजको तीन दिनमै नेपाल सहित विभिन्न देशमा युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा छ ।
यो गीत नेपालको युट्युबमा ट्रेन्डिङको यात्रामा पहिलो स्थानमा पुगेको छ । नेपालमा मात्र नभई माल्टामा पहिलो, कतारमा दोस्रो, अस्ट्रेलिया र युएईमा पाँचौँ तथा कुवेतमा उन्नाइसौँ स्थानमा रहेर यो गीतले नेपाली चलचित्रप्रतिको विश्वव्यापी चासोलाई झल्काएको छ । यी सबै मुलुकहरूमा नेपालीहरूको सङ्ख्या व्यापक रहेको छ र प्रवासमा रहेका नेपालीहरूको यो चासोले यस चलचित्रको विदेश रिलिज व्यापक हुने अनुमान गरिएको छ । गत बिहीबार साँझ रिलिज भएको यो गीत दश लाख बढी पटक युट्युबमा हेरिएको छ भने टिकटक र फेसबुक रिल्समा लाखौँ युजरले यसको भिडियो बनाएका छन् ।
यो गीतले नेपाली लोक सङ्गीतको चर्चित ‘कौडा/चुट्का’ भाकालाई पुनः जागरण गर्दै अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगर बीचको अव्यक्त प्रेमलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ । पाँचथर र नेपाल–भारत सीमावर्ती फालेलुङको सांस्कृतिक परिवेशमा आधारित यो चलचित्रका गीत तथा दृश्यहरूले दर्शकहरूको मन जितिरहेका छन् ।
‘मखमली’ गीतलाई सुजन चापागाईँ र सुनिता थेगिमले स्वर दिएका छन् । हर्क साउदको शब्द रचना, सुजन चापागाईँकै सङ्गीत, र कोविद बज्रको सङ्गीत निर्माण रहेको छ । दीप गुरुङको कोरियोग्राफीमा बनेको भिडियोमा अभिनेता विल्सन विक्रम राईको रोचक भूमिकाले थप आकर्षण थपेको छ ।
‘ऊनको स्वीटर’ आर्टमाण्डू प्रा.लि.को निर्माणमा बनेको पहिलो फिचर चलचित्र हो । चलचित्रलाई नवीन चौहानले निर्देशन गरेका हुन् भने सुरज कटुवालको सह लेखन रहेको छ ।
चलचित्रमा विपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमू, र भावना खपाङ्गी मगरलगायतको अभिनय रहेको छ ।