‘कार्साङ’ गीतमा दयाहाङ राई र सिर्जना निङलेखुको प्रेम
रिलिज मिति नजिकदै रहेको चलचित्र ‘कार्साङ’ को गीत सार्वजनिक भएको छ । एडी योडी र रेश्मा पुन मगरको स्वर रहेको गीत ‘सात भन्ज्याङ’ सार्वजनिक भएको हो। गीतमा डीपी खनालको शब्द रचना र एसडी योगीको संगीत छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारद्वय दयाहाङ राई र सिर्जना निङलेखुको अभिनय देख्न सकिन्छ ।
प्रेमिल गीतमा दयाहाङ र सिर्जनाको प्रेम देखाइएको छ । प्रेम, त्यसका सम्झना, सँगै जिउने रहर र त्यसका लागि दुई पात्रको योजनामा गीत केन्द्रित छ । शेर्पा समुदाय र राई समुदायको कल्चर गीतमा देखिन्छ । पुस २६ गते रिलिज हुने चलचित्र यम शेर्पाको निर्देशन रहेको छ। चलचित्रले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ ।
चलचित्र ‘कार्साङ’मा दयाहाङ र सिर्जनासँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डित लगायतका कलाकारको अभिनय रहेको छ । सिर्जना निङलेखुको यो डेब्यु चलचित्र हो । यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् ।