‘लाज शरणम्’ को इन्टरनेशल राइट्स बिक्यो
यो बर्षको महाशिवरात्री नेपाली चलचित्र क्षेत्रका लागी बिशेष बन्दैछ। हास्य टेलिशृंखला ‘सक्किगोनी’ को टिमले निर्माण गरेको चलचित्र ‘लाज शरणम्’ फागुन १४ मा रिलिज हुँदैछ। सक्किगोनीको टिम संगै अन्य अब्बल कलाकारको टिम बनाएको चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार (इन्टरनेशनल राइट्स) बिक्री भएको छ । यो चलचित्रको इन्टरनेशनल राइट्स सेभेन सिज इन्टरनेसनलले खरिद गरेको हो ।
मंगलबार निर्माण कम्पनी जेपिटी क्रिएसनका तर्फबाट अर्जुन घिमिरे ‘पाँडे’ र वितरण कम्पनीका तर्फबाट प्याट्रिक सुवेदीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार, सेभेन सिज इन्टरनेसनलले ‘लाज शरणम’लाई दुई चरणमा विभाजित गरी अन्तर्राष्ट्रिय बजारमा वितरण गर्ने योजना बनाएको छ।
वितरक प्याट्रिक सुवेदीका अनुसार ‘लाज शरणम’ आगामी फेब्रुअरी २८ र मार्च ७ तारिखमा विभिन्न देशहरूमा प्रदर्शन गरिने जानकारी दिए । कुन-कुन देशमा प्रदर्शन हुने भन्ने विस्तृत जानकारी भने चाँडै सार्वजनिक गरिने सुवेदीले बताएका छन् । भारतको प्रदर्शन अधिकार भने निर्माण टिमसंगै रहनेछ।
नेपालमा भने यो चलचित्रलाई ब्यांकटेस इन्टरटेनमेन्टले जिम्मा लिएको छ । कुमार कट्टेलले चलचित्रको निर्देशन गरेका छन्। चलचित्रमा विजय बराल, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा सँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), कमलमणी नेपाल (खुपीका बाउ) लगायतका कलाकारको अभिनय रहेको छ ।
नवीन श्रेष्ठ निर्माता रहेको चलचित्रमा राम नरेश शाह र श्रीजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । चलचित्रमा सुदीप बराल छायांकारका रुपमा रहेका छन् ।