प्रकाश र परिक्षाको प्रेम र वियोगमा ‘सोल्टिनी’
प्रकाश सपुत र परिक्षा लिम्बू प्रमुख भूमिकामा रहेको चलचित्र ‘सोल्टिनी’ चाडै नै छायाङ्कनमा जाने तयारीमा रहेको छ। केहि दिन अगाडी चलचित्रको घोषणासंगै एक भिडियो मार्फत चलचित्रको बारेमा जानकारी गरिएको थियो । चलचित्रको निर्माण टिमले पोष्टर सार्वजनिक गरेको छ।
पोस्टरमा अभिनेता प्रकाश सपूत र अभिनेत्री परीक्षा लिम्बुलाई प्रेम र वियोगको भावमा प्रस्तुत गरिएको छ । सपूतले ‘भीमसेन पोखरेल’ र लिम्बुले ‘दिलासा राई’ को भूमिका निभाउनेछन् । यो जोडी पहिलो पटक एकसाथ पर्दामा देखिन लागेको छ। अर्जुन सुवेदीले निर्देशन गर्ने चलचित्र चलचित्रको छायाङ्कन भोजपुरमा हुनेछ। ‘सोल्टिनी’ ले समाजमा व्याप्त जातीय भेदभाव र अमानवीयताका विरुद्ध आवाज उठाउनेछ । साथै, मुख्य पात्रहरू बीचको प्रेमकथाले चलचित्रलाई थप रोचक बनाउने निर्देशक सुवेदीले बताए ।
चलचित्रमा प्रकाश र परीक्षासँगै विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, र सुजन खतिवडाको अभिनय रहनेछ । प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुने यो चलचित्रका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन् । पुसको अन्त्यतिर छायाङ्कन सुरु हुने ‘सोल्टिनी’ लाई २०८२ साल असोज ३ गते रिलिज गर्ने तयारी गरिएको छ।