स्केज पोस्टरमा यस्तो देखियो ‘ श्री बुकुरो’ , ५७ दिन लगाएर खिचियो
सुदीप भुपाल सिंहको निर्देशनमा निर्माण भएको चलचित्र ‘श्री बुकुरो : द होम कलिङ’ को औपचारिक घोषणा गरिएको छ । छायांकन पुरा भएर हाल पोष्ट प्रोडक्सनमा रहेको चलचित्रको यही हप्ता टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिने निर्देशक सिंहले बताएका छन् ।
रेञ्जको ब्यानरमा निर्माण भएको चलचित्रमा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मा लगायतको अभिनय छ ।
चलचित्रको टिमले मंगलबार सार्वजनिक गरेको स्केच पोस्टरमा आशीर्वाद सहितका कलाकारहरु चित्रित छन्। पोष्टरमा एउटा घर र मन्दिर देख्न सकिन्छ भने ग्रामीण परिवेशको कथामा चलचित्र बनेको अनुमान गर्न सकिन्छ। बुकुरोको अर्थ झुप्रो घर भन्ने हुन्छ । ‘माला’ र ‘रुद्रप्रिया’ को निर्देशन गरेका सुदीप भुपाल सिंह ७ वर्षपछि निर्देशनमा कमव्याक गर्न लागेका हुन् । पारिवारिक कथामा निर्माण भएको ‘श्री बुकुरो’ ले दर्शकलाई पूर्ण मनोरञ्जन दिने विश्वास निर्देशक सिंहलाई छ ।
निर्देशक सिंह स्वयंको लेखन तथा रुबी सेन सिंहको निर्माण रहेको चलचित्रलाई सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन गरेका हुन् । मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा गरी ५७ दिनसम्म चलचित्रको छायांकन भएको थियो। चलचित्रको गीतमा रञ्जीत गजमेर र बसन्त सापकोटाको संगीत छ ।