‘सोल्टिनी’ मा प्रकाश र परिक्षा, असोज ३ मा रिलिज तय
गायक तथा कलाकार प्रकाश सपुत पछिल्लो समय एकपछि अर्को चलचित्रमा काम गरिरहेका छन्। होम प्रोडक्सनको चलचित्र ‘वसन्त’ चैत्रमा रिलिजको तयारीमा रहेको छ। दिपेन्द्र के खनालको निर्देशनमा तयार हुने चलचित्र ‘हरिबहादुरको जुत्ता’ उनले साइन गरिसकेका छन्। यहि बीचमा उनि नयाँ चलचित्रमा अनुबन्ध भएका छन्।
अर्जुन सुवेदीको निर्देशनमा तयार हुने चलचित्र ‘सोल्टिनी’ मा उनि अनुबन्ध भएका हुन्। चलचित्रमा उनको जोडी परिक्षा लिम्बूसंग बाँधिएको छ। परिक्षा पछिल्लो समय लगातार चलचित्रमा काम गरिरहेकी छिन्। सोलो अभिनेत्रीको रुपमा यो चलचित्र उनका लागी बिशेष हुनेछ। अर्जुनले यो अगाडी चलचित्र ‘रंगेली’ निर्देशन गरेका थिए।
यो चलचित्रमा प्रकाशले ‘भीमसेन पोखरेल’को पात्र निर्वाह गर्नेछन् । यस्तै, लिम्बुले ‘दिलासा राई’ को पात्रको भूमिका निर्वाह गर्नेछिन् । दुई पात्रको मनोभावलाई कथा वाचक साइग्रेस पोखरेलले व्यक्त गरेका परिचयात्मक भिडियो पनि सार्वजनिक गरिएको छ । चलचित्रलाई भोजपुरको कुनै एक गाउँमा खिच्ने तयारी निर्माणपक्षको छ ।
प्लानेट थ्री फिल्मस्को प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुन लागेको चलचित्रको छायांकन पुसको १५ गतेबाट हुनेछ । असोज ३ गते संविधान दिवसको अवसर पारेर चलचित्र रिलिज गर्ने घोषणा गरिएको छ ।