‘बम बहादुर’ ट्रेलर: सौगातको अभिनय मार्फत ‘गोर्खाल्याण्ड’ का लागी संघर्षको कथा
चलचित्र ‘बम बहादुर’ को ट्रेलर सार्वजनिक भएको छ। बुधबार सार्वजनिक गरिएको ट्रेलरले गोर्खाल्यान्डका लागि भएको संघर्षलाई प्रस्तुत गरेको छ। ट्रेलरमा अभिनेता सौगात मल्लको पात्रलाई भिन्न स्वभावमा प्रस्तुत गरिएको छ। उनको विद्रोही र रहस्यमयी चरित्रले दर्शकमा थप कौतुहलता सृजना गरेको छ।
‘गोर्खाल्याण्ड’ का नेपाली भाषीले धेरै संघर्ष गरेका छन्। यसले नेपालमा भन्दा पनि भारतमा बसोबास गरिरहेका नेपाली भाषीहरुको मन धेरै छुन सक्नेछ। चलचित्रमा सौगातसहित प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिस्ट कार्की, सुरेश पन्चकोटी, प्रभात पाख्रिन, बादल क्षेत्री, धीरज चाम्लिङ लगायतको अभिनय छ । जोन राईको निर्देशनमा तयार भएको चलचित्र पुष ५ गतेबाट नेपाल र भारतमा एकसाथ रिलिज हुनेछ ।
भारतका नेपाली समुदायले गरेको सङ्घर्षको डिजिटल दस्तावेजको रुपमा व्याख्या गरिएको चलचित्रले भारतको पश्चिम बङ्गाल राज्यको दार्जिलिङ र डुअर्स क्षेत्रमा बस्ने नेपाली समुदायले गरेको ऐतिहासिक सङ्घर्षलाई चित्रण गर्नेछ। बिस्ट ब्रदर्स फिल्म्सको निर्माणमा बनेको चलचित्रका निर्माता सञ्जीव सार्की हुन् ।