‘परालको आगो’ मा सुहाना थापा अनुबन्धित
अभिनेत्री सुहाना थापाले होम प्रोडक्सन बाहिरको पहिलो चलचित्र साइन गरेकी छिन्। लक्ष्मण सुनारको निर्देशनमा तयार हुने चलचित्र ‘परालको आगो’ मा उनी ‘गौंथली’ चरित्रमा देखिदैछिन्। हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले सुहानालाई शुक्रबार चलचित्रमा अनुबन्ध गरेका हुन्।
गुरुप्रसाद मैलानीको चर्चित कथामा आधारित रहेर चलचित्र निर्माण हुनेछ। नासो कथा संग्रहमा संग्रहित यो कृति निकै सफल र चर्चित रहेको छ। मैनाली कथा पुरस्कार ट्रस्टले केही समयअघि हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई चलचित्र निर्माणको मञ्जुरी दिएको थियो । चलचित्रमा अनुबन्धित भएपछि सुहानाले खुशी व्यक्त गरेकी छन् । ‘एउटा अमर कृतिमा काम गर्न पाउनु मेरो लागि सौभाग्य हो । त्यहीकारण मैले घरबाहिरको चलचित्र पहिलोपटक साइन गरें’, सुहानाले भनिन् ।
निर्माता पोखेलका अनुसार चलचित्रको प्रदर्शन २०८२ को दशैंमा हुनेछ । दुई पात्र चामे र गौँथलीको झैँझगडालाई प्रस्तुत गरिएको कथा ‘परालको आगो’ को चलचित्रको सुटिङ्ग फागुनबाट हुनेछ।