प्रिमियरमा ‘अग्निदहन’ लाई प्रसंसा, भोलिबाट रिलिज हुँदै
शुक्रबारबाट रिलिज हुने चलचित्र ‘अग्निदहन’ ले बुधबार साँझ राजधानीमा प्रिमियर गरेको छ । प्रिमियरमा चलचित्र हेरेपछि अधिकांश फिल्मकर्मीले कथावस्तु मनपरेको प्रतिक्रिया दिए । निर्देशक नारायण रायमाझीले गाउँमा अझै पनि बोक्सी प्रथा कायमै रहेकाले यस्ता चलचित्र अझै धेरै बन्नु पर्ने बताए ।
राजनीतिकर्मी शंकर तिवारीले अधिकांश चलचित्रमा समस्या मात्र देखाइने तर समाधान नदेखाइने प्रचलन भइरहेको समयमा ‘अग्निदहन’ मा भने गहिराईमा पुगेर समस्या र समाधान दुवै देखाइएको बताए ।
निर्देशक तथा कलाकार नरेश पौडेलले चलचित्रले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार गरेको बताए । उनले यसलाई घिनलाग्दो कुरुतीलाई विद्रोही प्रहारको संज्ञा दिए ।
यो चलचित्रका परिकल्पनाकार तथा प्रस्तुतकर्ता कोविदशरण उपाध्यायले चाँडै नै तराईका भारतसँग सीमाना जोडिएका जिल्लामा पनि चलचित्र प्रदर्शन गर्ने जानकारी दिए । ‘हामी जहाँ जहाँ पुग्यौं सबैले बोक्सी अन्धविश्वास रहेछ भन्नुभयो’, उनले भने ।
घनश्याम लामिछाने निर्देशित चलचित्रमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, तारा बहादुर गुरुङको अभिनय छ ।
नेपालको निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले समेत हेरिसकेको यो चलचित्रलाई चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत दिइसकेको छ ।