इनिसियल व्यापारमा अब्बल ‘ह्रस्व दीर्घ’ लाई गिराउन गिरोह सक्रिय भएको निताको आरोप


कार्तिक ३० गते शुक्रबार बाट चलचित्र ‘ह्रस्व दीर्घ’ले आक्रामक इनिसियल व्यापार गरेको छ। शुक्रबार र शनिबार चलचित्रले २ करोड बराबरको ग्रस कलेक्सन गरेको निर्माण टीमले जानकारी दिएको छ । चलचित्रले शुक्रबार ८० लाख र शनिबार १ करोड २० लाखको व्यापार गरेको आँकडा सार्वजनिक भएको हो । ठुलो स्टारकाष्ट र हाइप बीच करिव १५० शो लिएर रिलिज भएको चलचित्रले अधिकांश शोमा हाउसफूल व्यापार गर्न सफल भैरहेको छ।


मिश्रित प्रतिक्रिया बटुलिरहेको चलचित्रले आइतबार पनि दर्शकको राम्रो साथ पाएको थियो। सामाजिक संजालमा पनि चलचित्रका क्लिप्सहरु भाइरल भैरहेका छन् जस्ले चलचित्रको प्रमोशनमा थप बल पुर्याइरहेको छ। बिशेष गरि चलचित्रको क्लाईमेक्समा अभिनेत्री विपना थापाको अभिनयले दर्शकको मन जितिरहेको छ।

चन्द्र पन्तको निर्देशनमा तयार भएको चलचित्रले सोचे भन्दा कम शो पाइरहेको निर्माण टिमले गुनासो गरिरहेको छ। ‘पूर्ण बहादुरको सारंगी’ को क्रेज नघटेको कारण पनि चलचित्रको शो बढाउन हल संचालकलाई गार्हो परिरहेको छ। मध्यराति ११:४५ सम्मका शोको हाउसफुल प्रदर्शन चलिरहेको छ।


नीता ढुंगानाको निर्माणमा तयार भएको चलचित्रमा विपना थापा, नीता ढुंगाना, हरिहर अधिकारी, सरोज खनाल, रेखा थापा, सञ्चिता लइँटेल, आदर्श मिश्र, ब्रह्मानन्दम, प्रदीप रावत, सुनिल बर्मा, अली, कबीर दुहन सिंह लगायतका कलाकारको अभिनय रहेको छ।

‘ह्रस्व दीर्घलाई गिराउन गिरोह सक्रिय भयो’

यही बीचमा अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले ‘ह्रस्व दीर्घ’ लाई गिराउन गिरोह सक्रिय भएको आरोप लगाएकी छिन्।
नीता भन्छिन्,‘हलमा पुगेर चलचित्र राम्रो छैन भन्दै हिँड्ने, सामाजिक संजालमा हाम्रो चलचित्रको बारेमा झुटो प्रचार गर्ने मानिसहरू सक्रिय भएका छन् । आम दर्शकले निकै मन पराउनुभएको छ । हामीसँगै दर्शक हाँस्नु भएको छ, रुनु भएको छ । तर, चलचित्रको बारेमा झुटो प्रचार गर्न केही मानिसहरू सक्रिय भएका छन् ।’

प्रतिक्रिया दिनुहोस्