‘परालको आगो’ कथामा चलचित्र बन्ने, दशैँमा रिलिज तयारी


कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’ मा आधारित रहेर चलचित्र निर्माण हुने भएको छ । मैनाली कथा पुरस्कार ट्रस्टले हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई निर्माणको मञ्जुरी दिएको छ । ‘परालको आगो’ मैनालीको कथा संग्रह ‘नासो’मा संग्रहित छ ।

चलचित्रका निर्माता सुशीलकुमार पोखरेललाई कथाकार मैनालीका छोरा माधवप्रसादले ‘कथाको मर्म नबिग्रने गरी’ निर्माणको अनुमति दिएका हुन् । निर्माता पोखेलका अनुसार चलचित्रको प्रदर्शन २०८२ को दशैंमा हुनेछ । यो नाममा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले चलचित्र निर्माण गरेका थिए ।

निर्माता पोखरेलले यसपटक लोकेसन, प्रस्तुतीकरण र पटकथालाई फरक किसिमले चलचित्रमा प्रस्तुत गर्न लागेको बताए । निर्देशक लक्ष्मण सुनारको निर्देशन रहने चलचित्र फागुनदेखि छायांकनमा जाँदैछ । निर्माण पक्षले कलाकार फाइनल हुन बाँकी रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्