खुल्यो ‘ह्रस्व दीर्घ’ को एड्भान्स बुकिङ्ग, कस्तो छ शोको स्थिती ?


कार्तिक ३० गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘ह्रस्व दीर्घ’ को एडभान्स बुकिङ्ग खुलेको छ। मल्टिप्लेक्स चेन क्युएफ़एक्स र अन्य मल्टिप्लेक्सले चलचित्रको शो खुल्ला गरेका छन्। ‘पूर्णबहादुरको सारंगी’ को दबदबाको बीचमा चलचित्रले ठीकठाक शोको साथमा बुकिङ्ग सुरुवात गरेको छ ।

भारतीय चलचित्र ‘कंगुवा’ रिलिज नहुने भएपछि चलचित्रलाई केहि फाइदा पक्का हुनेछ। त्यस्तै ‘केटि हराएको सुचनाले पनि आफ्नो रिलिज मिति पोष्टपोण्ड गरिसकेको छ। यो अर्थमा वर्ड अफ माउथ बलियो भएमा चलचित्रले फाइदा उठाउन सक्नेछ। उपत्यका बाहिर २६ र काठमान्डौ उपत्यकामा १९ शो क्युएफएक्स चेनले दिएको छ । अन्य मल्टिप्लेक्सले पनि चलचित्रको शो बिस्तारै खोल्दै गएका छन्। देशभर १०० भन्दा बढी शो सहित चलचित्र रिलिज हुने अनुमान गरिएको छ।

यहि बीचमा चलचित्रमा समावेश मर्मस्पर्शी गीत सार्वजनिक भएको छ। मंगलबार रिलिज भएको ‘भगवान नै आमा हुन्’ बोलको गीतमा आमाको महिमा वर्णन गरिएको छ । सत्यराज आचार्यको गायन तथा बाबुल गिरीको शब्द रचना र संगीत गीतमा रहेको छ ।

सन्तानका लागि एक आमाले गर्ने संघर्ष, त्याग र समर्पणको भाव गीतमा प्रस्तुत गरिएको छ । सार्वजनिक गीतमा अभिनेत्री विपना थापालाई आमाको रुपमा चित्रित गरिएको छ । उनको अभिनय मनछुने लाग्छ । एक समयकी सफल अभिनेत्री विपनाले ‘ह्रस्व दीर्घ’बाट १६ वर्षपछि नेपाली रजतपटमा कमब्याक गरेकी हुन् ।

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको चलचित्रमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ । चन्द्र पन्तको निर्देशन र निता ढुंगानाको लगानीमा निर्माण भएको चलचित्र नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्