निता ढुंगानाको ‘ह्रस्व दीर्घ’ कात्तिक ३० गतेबाट नेपाली र हिन्दी भाषामा एकसाथ रिलिज हुने
झन्डै ६ करोड माथिको बजेटमा निर्माण भएको चलचित्र ‘ह्रस्व दीर्घ’ कात्तिक ३० गतेबाट प्रदर्शनमा आउंदैछ। नेपाली र साउथ इन्डियन कलाकारको ठूलो उपस्थिति रहेको चलचित्रलाई नेपालीसहित हिन्दी र तेलुगू भाषामा पनि तयार पारिएको छ । नीता ढुंगानाको निर्माणमा तयार भएको चलचित्र नेपाली र हिन्दी दुवै भाषामा एकै मितिमा रिलिज हुनेछ। विदेशका विभिन्न स्थानमा पनि दुवै भाषामा चलचित्र रिलिज हुनेछ।
सेभेन सिजले नेपाल रिलिजको एक सातापछि चलचित्रको दुवै संस्करणलाई अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन गर्नेछ। चलचित्रको तेलगू भर्सन माघ अन्तिममा रिलिज गर्ने तयारी रहेको छ। दशैँमा सार्वजनिक भएको टिजरलाई दर्शकले रुचाएका छन् । ब्रह्मानन्दमको डविङ्गलाई टिजरमा राम्रो प्रतिक्रिया नमिलेपछि निर्माण टिमले आवाज परिवर्तन गरेको छ। चलचित्रमा साउथबाट ब्रह्मानन्दम सहित अली, सुनिल वर्मा, प्रदीप रावत र कबीर दुहन सिंहको अभिनय रहेको छ ।
चलचित्रमा नेपालबाट नीता ढुंगाना, हरिहर अधिकारी, सञ्चिता लुइँटेल, विपना थापा, सरोज खनाल, किरण केसी, बुद्धि तामाङ, गरिमा शर्मा, रवीन्द्र झा, नरेन खड्का लगायतको अभिनय रहेको छ । अभिनेत्री रेखा थापा चलचित्रमा बिसेष भूमिकामा देखिएकी छिन्। चन्द्र पन्तको डेब्यु निर्देशनमा तयार भएको चलचित्रमा नीता ढुंगाना निर्मात्री र धनन्जय गलानी कार्यकारी निर्माता रहेका छन्। चलचित्रलाई बलिउड छायाँकार कवीरलालले खिचेका हुन् ।
निता ढुंगानाको यो ड्रिम प्रोजेक्ट हो। लामो समय लगाएर तयार पारिएको चलचित्रलाई लिएर दर्शक पनि उत्साहित देखिएका छन्।