डेव्युमा सफलताको स्वाद चाखेका समिर भट्ट: सम्भावनाले भरिएको पूर्ण प्याकेजको हिरो


चलचित्र क्षेत्रमा हरेक बर्ष धेरै नयाँ कलाकार आफ्नो स्थान बनाउन तत्पर रहेका हुन्छन्। धेरै नयाँ कलाकारको आगमन र बहिर्गमन चलचित्र क्षेत्रमा भैरहेको हुन्छ। कतिले आफ्नो भविष्य यहि क्षेत्रमा बनाउन सफल भएका हुन्छन् भने कति त्यो यात्रामा असफल बन्छन्। पुर्व तयारी गरेर आउने, मिहेनत गर्ने कलाकारले भलै ढिला होला तर आफ्नो यात्रा सुन्दर बनाउन सक्छन्। केहिले पहिलो चलचित्रबाट नै आफ्नो सम्भावना र चर्चा दुवै देखाउन सफल छन्।

पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा नव-अभिनेताहरुको चर्चा र सम्भावना दुवैको खडेरी देखिदै आएको थियो। राम्रो अभिनय गर्न सक्ने भए पनि दर्शकसम्म पुग्न सक्ने कलाकारको डेव्यु नभएको कमै भएको थियो। त्यो सवै कुराको अभाव समिर भट्टले पुरा गरिदिएका छन्। असोज २४ गतेबाट रिलिज भएको चलचित्र ‘१२ गाउँ’ उनको डेव्यु चलचित्र हो। पिता र एक्सन स्टार अभिनेता विराज भट्टको निर्देशनमा नेपाली चलचित्र क्षेत्रमा पाइला टेकेका समिरको पहिलो तस्विर सार्वजनिक भए देखि नै चर्चा चुलिएको थियो। उनको चर्चा र सम्भावनालाई उनले पहिलो चलचित्रबाट नै झन् बलियो बनाएका छन्।

मिश्रित प्रतिक्रिया बटुलेको चलचित्रको व्यापार बम्पर रहेको छ। १० करोड भन्दा माथीको ग्रस कलेक्सन चलचित्रले गरिसकेको बताइएको छ। अहिले पनि चलचित्रका शोज हरु हाउसफुल रहेका छन्। चर्चा जस्तै समिरले प्रसंसा पनि बटुलिरहेका छन्। लुक्स संगै उनको अभिनय, डान्स, डाइलग डेलिभरी र एक्सन सबैले तारिफ पाइरहेको छ। धेरैपछि पूर्ण प्याकेजको हिरो मिलेको चर्चा यतिबेला भैरहेको छ। उनको दोश्रो चलचित्र बलिदान यतिबेला झन् प्रतिक्षित बनिरहेको छ।

तर समिरको यो चर्चा र यात्रा सहज भने देखिन्न। उनले चलचित्र क्षेत्रमा डेव्यु गर्नु अगाडी लामो समय मुम्बईमा बसेर तयारी गरेका थिए। यसको प्रतिफल उनको करियरमा देखिने पक्का रहेको छ। अझ नयाँ अभिनेतामा एक्सनको अभाव देखिदै आएको थियो। यसको पुर्ती पनि समिरले गर्ने पक्का रहेको छ। राम्रो चलचित्रको सेलेक्सन र अभिनयले नेपाली चलचित्र क्षेत्रलाई नयाँ आयाम दिन समिर सफल बन्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्