‘ग्लोबल ट्रेन्डिङ’ मा प्रवेश गर्दै ‘रुकुम मैकोट’ को रेकर्ड, ‘खुस्मा’ व्यापारमा पनि अब्बल


चलचित्र ‘खुस्मा’ गएको असोज ३ गते बिहिबारबाट सार्वजनिक प्रदर्शनमा आएको थियो। रिलिज अगावै राम्रो चर्चा बटुलेको चलचित्रले बक्स अफिसमा पनि राम्रो कमाई गरिरहेको छ। रिलिजको सुरुवाती ३ दिन (बिहिबार, शुक्रबार र शनिबार) चलचित्रले २ करोड ५५ लाख बराबरको ग्रास कलेक्सन गरेको चलचित्रको निर्माण टिमले आंकडा सार्वजनिक गरेको छ। बिहिबार आकर्षक व्यापार गरेको चलचित्रले शुक्रबार मध्यम र शनिबार उत्कृष्ट व्यापार गर्न सफल भएको छ। काठमान्डौ भन्दा पनि बाहिर चलचित्रको दर्शकको उपस्थिति र व्यापार रहेको छ।

व्यापारिक आँकडा बढाउन चलचित्रको गीतले ठुलो मद्दत गरेको छ। चलचित्रमा समावेश ‘रुकुम मैकोट’ बोलको गीतले दर्शकको मन जितेको छ। हप्तौ सम्म नेपालको म्यूजिक सेक्सन अन्तर्गत ट्रेन्डिङको पहिलो नम्बर रहेको छ। गीतमा हजारौ टिकटक, रिल्स बनिसकेका छन् र त्यो क्रम जारि रहेको छ। युट्युबको म्यूजिक ग्लोबल चार्टमा ‘ग्लोबल ट्रेन्डिङ’ को ७३औं आएर चलचित्रको गीतले अर्को इतिहास रचेको छ।

अर्को नेपाली गीत ‘कश्मीरे पछ्यौरी’ ले ग्लोबलको यात्राको सुरुवात गरेको थियो । यो गीत अझै ९० भित्रको ट्रेन्डिङमा रहेको छ। विश्वमा धेरै हेरिने गीतको ७३ औं नम्बरमा पर्नु खुस्माको लागि आफैमा एक सफलता हो। सुस्त सुरुवात गरेको यो गीतलाई १ करोड ३५ लाख भन्दा बढी पटक हेरिएको छ र यसको क्रम बढ्दो रहेको छ । एसडी योगी र शान्तिश्री परियारको स्वर रहेको गीतमा सुरेन्द्र रानाको शब्द र एसडी योगीको संगीत रहेको छ। कर्णप्रिय अडियो र सिम्पल डान्स स्टेपले यो गीतको चर्चा चुलिएको छ।

सशस्त्र द्वन्द्वको प्रभावका बीच अंकुराएको प्रेमकथालाई प्रस्तुत गरिएको चलचित्रमा धिरज मगर र उपासना सिंह ठकुरीको प्रमुख भूमिका रहेको छ। समीक्षात्मक हिसाबले पनि राम्रो साथ पाएको चलचित्र बर्षको अर्को हिट यात्रामा रहेको छ। अशोक थापा मगरले चलचित्रलाई निर्देशन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्