पूर्व उपराष्ट्रपति नन्द किशोर पुनसंग धिरज मगरको डान्स


असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘खुस्मा’ को चर्चा यतिबेला बढिरहेको छ। बिशेष गरि ‘रुकुम मैकोट’ बोलको गीतले पाएको चर्चाले यो चलचित्रको चर्चा झन् चुलिएको हो। ट्रेलरलाई पनि दर्शकले रुचाइरहेका छन्। प्रदर्शन मिति नजिकिदै गर्दा चलचित्रको प्रचारलाइ पनि तीव्रता दिईएको छ। शनिबार अभिनेता धिरज मगर नेपाल मगर साँस्कृतिक संघ विशेष उपत्यका समितिले आयोजना गरेको खुल्ला मौलिक कौराह (कानराहा) नृत्य प्रतियोगिता कार्यक्रममा पुगेका थिए ।

यो कार्यक्रमको प्रमुख अतिथिका रुपमा पूर्व उपराष्ट्रपति नन्द किशोर पुन उपस्थित रहेका थिए । सोही कार्यक्रममा बोल्दै जनयुद्धको परिवेशमा मगर संस्कार र संस्कृति समेटेर निर्माण गरिएको आफ्नो चलचित्र हेर्न धिरजले निम्तो दिए ।

उक्त कार्यक्रमममा अभिनेता मगरले ‘रुकुम मैकोट’ गीतमा नृत्य समेत गरेका थिए । पूर्व उपराष्ट्रपति नन्द किशोर पुनले अभिनेता मगरलाई कार्यक्रममा मगर साँस्कृतिक संघको लोगो अंकित पगरी लगाइदिँदै सफलताको शुभकामना दिए ।

रुकुमको तकसेरामा जन्मेको मगरको छोरो जो युकेमा हुर्केर नेपाल फर्केर मगर संस्कृतिलाई चलचित्रबाट विश्वलाई चिनाउन लागि परेको भन्दै आफुले समय मिलाएर ‘खुस्मा’ हेर्ने बाचा समेत गरेका थिए ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । चलचित्रको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह-निर्माता सुस्मिता बुढाथोकी हुन् ।

चलचित्रमा धिरज मगर, उपासना सिंह ठकुरी, माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्