‘प्रविधि पूजा’ सँगै ‘बलिदान’ को छायाङ्कन प्रारम्भ


निर्देशक सन्तोष शेनको महत्वकांक्षी प्रोजेक्ट ‘बलिदान’ को शुक्रबार ‘प्रविधि पूजा’ सँगै छायाङ्कन प्रारम्भ गरिएको छ । हरितालिका तीजको अवसर पारेर मोरङको सुन्दरहरैंचास्थित पाथीभरा माताको मन्दिरमा पूजा गरिएको हो ।

“बलिदानको निर्माणका लागि लामो समयदेखि हामीले अथक मेहनत, खोज अनुसन्धान, र सिर्जनासँगै प्री-प्रोडक्सनमा गरिएको र तपस्यापछि आज प्रविधि पूजा गर्दै प्रोडक्सनको चरणमा प्रवेश गरेका छौँ । भारतका प्रख्यात प्राविधिकहरू र नेपालका सम्पूर्ण प्राविधिक तथा कला डिपार्टमेन्टका सदस्यहरूलाई एकत्रित गर्दै हरितालिका तीजको उपयुक्त दिनमा क्यामेरा र अन्य प्रविधिको पूजा गर्दै ‘बलिदानको बिगुल’ फुकेका छौँ,” पूजापछि निर्देशक सेनले भने, “पर्दापछाडि बसेर स्मार्ट तरिकाले काम गर्ने प्राविधिक र प्रविधिलाई हामीले सधैँ ‘रियल हिरो’ मान्छौँ, त्यसैले सर्वप्रथम प्रविधिको पूजा गरेर हामीले यो यात्रा सुरु गरेका हौँ।”

शनिवार मोरङको इटहरीमा चलचित्रको पहिलो शट अभिनेत्री ऋचा शर्मा र केही बाल कलाकारहरूको दृश्य रहनेछ । निर्देशक सन्तोष सेनका अनुसार, केही दिनपछि समीर भट्ट, अर्पण थापा, सौगात मल्ल, र दिव्य देव लगायतका कलाकारहरूको छायाङ्कन सुरु हुनेछ । नेपालको माटोमाथि भइरहेको शोषण, निरङ्कुशता, र समाजका तथाकथित नाइकेहरूको अत्याचारमा आधारित रहेर चलचित्र निर्माण हुनेछ।

‘बलिदान’लाई दक्षिण भारतका चर्चित प्राविधिकहरू, द्वन्द्व निर्देशक स्टन्डर साम र छायाकार शरण ऋषि लगायत ५० जनाको प्राविधिक टोलीले निर्माण गर्नेछ । चलचित्रमा प्रयोग गरिने लाइट, साउन्ड, र क्यामेरा उपकरणहरू भारतको मुम्बईबाट ल्याइएको हो। छायाङ्कनका लागि इटहरीस्थित बिएमसी स्टुडियोमा भव्य सेट तयार गरिएको छ भने विराटनगर क्षेत्रमा पनि सेट निर्माण भएको छ । करिब ६० प्रतिशत छायाङ्कन स्टुडियोमै हुने निर्देशक सेनले जानकारी दिएका छन् ।

चलचित्रमा प्रमुख भूमिकामा अभिनेता बिराज भट्टका छोरा समीर भट्ट रहेका छन्, जसले मुम्बईमा लामो समयदेखि अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिम लिएका छन् । साथमा सौगात मल्ल, अर्पण थापा, दिव्य देव, र ऋचा शर्माको पनि मुख्य भूमिका रहनेछ ।

आसुसेन फिल्मस् प्रा.लि. र सन्तोष सेनको प्रस्तुति रहेको ‘बलिदान’का निर्माता पवन ब्राडफोर्ड बिस्ट र सह-निर्माता प्रेम पुरी हुन् ।

प्रतिक्रिया दिनुहोस्