‘हरिबहादुरको जुत्ता’ मा हरिवंश र प्रकाश, दिपेन्द्र निर्देशक


निर्देशक दिपेन्द्र के खनालको निर्देशनमा नयाँ चलचित्र ‘हरिबहादुरको जुत्ता’ निर्माण हुने भएको छ । यो चलचित्रमा हरिवंश आचार्य र प्रकाश सपुत मुख्य भूमिकामा रहनेछ। चलचित्र विकास बोर्डमा चलचित्रको नाम दर्ता गरिसकिएको छ ।
गायक तथा म्यूजिक भिडियो निर्माता सरोज ओलीले यो चलचित्र निर्माण गर्न लागेका हुन् । ओलीले बुधबार चलचित्र विकास बोर्डमा यो नाममा चलचित्र दर्ता गराउँदै निर्माण इजाजतसमेत लिएका छन् ।

चलचित्रको पटकथा तथा संवाद हरिवंशले लेखेका छन् । ‘मेरो मनमा एउटा कन्सेप्ट फुरिरहेको थियो ,’ अभिनेता तथा लेखक हरिवंशले भने, ‘सरोज ओली भाईलाई सुनाएपछि यसमा म आफै चलचित्र बनाउँछु भनेर उहाँ हौसिनुभयो । त्यसपछि चलचित्रको लिड रोलमा पनि मलाई नै अनुबन्धित गर्नुभयो । आइडिया युनिक छ, राम्रो बन्छ भन्नेमा म विश्वस्त छु ।’

अभिनेता आचार्य र निर्माता ओलीबीच म्युजिक भिडियोमा लगातार सहकार्य भइरहेको थियो । पहिलोपटक चलचित्र निर्माणमा होमिएका ओलीले हरिवंशलाई नै लिएर चलचित्र निर्माण गर्न लागेका हुन्। अभिनेताद्धय हरिवंश र प्रकाशसँग निर्देशक दिपेन्द्रको यो पहिलो सहकार्य हो । तीनैजनाले यसअघि सँगै चलचित्रमा सहकार्य गरेका छैनन् ।चलचित्रको थप ‘कास्ट एन्ड क्रु’ फाइनल हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्