निर्माताले कथामा लगानी गर्न डराएपछि आफै निर्मात्री बनेकी शिल्पाको कथा


तीजको अवसर पारेर भदौ २१ गते शुक्रबारबाट प्रदर्शनमा आउने नारी प्रधान चलचित्र ‘देवी’लाई लिएर अभिनेत्री शिल्पा मास्केको दौडधुप तीब्र छ । उनी चलचित्रको अभिनेत्री मात्रै नभई सह-निर्मात्री समेत हुन् ।
काठमाडौंमा आयोजित ‘देवी’ को पत्रकार भेटघाट कार्यक्रममा भेटिएकी अभिनेत्री मास्केले चलचित्रको बिषयमा खुलेर कुरा गरिन् । उक्त भेटमा यो चलचित्रको स्कृप्ट लिएर आफुहरु धेरै निर्माताको पुग्दा कसैले पनि यो कमर्शियल चलचित्र नरहेको भन्दै लगानी गर्न नमानेपछि अभिनेत्रीको रुपमा जोडिएकी आफै निर्माणमा सहकार्य गर्न तयार भएको बताइन् ।

‘स्क्रिप्ट तयार भएपछि हामीले केही निर्मातालाई भेट्दा यति संवेदनशील विषय छ, कमर्शियल चलचित्र होइन भनेर लगानी गर्न इच्छा देखाउनुभएन । मलाई चाहिँ कन्टेन्टप्रति विश्वास भएकाले निर्माताको रुपमा अनुभव गर्न मन लाग्यो’, उनी सम्झन्छिन् । निर्माताको जिम्मेवारी चुनौतीपूर्ण हुने अनुभव उनको छ ।

‘निर्माताको जिम्मेवारी निभाउँदा चुनौती चाहिँ एकदमै हुँदो रहेछ’, उनी सुनाउँछिन्, ‘प्रचारमा हुँदा समेत दिमाग धेरै ठाउँमा पुग्ने रहेछ । निर्माता बन्नु गाह्रो काम हो । तर, पहिलो अनुभव भएकाले धेरै सिक्न पाएँ ।’ यो चलचित्र व्यावसायिक रुपमा सफल भएमा आगामी दिनमा पनि चलचित्र निर्माणलाई निरन्तरता दिने योजना शिल्पाको छ ।

व्यापारका लागि ‘देवी’मा लगानी नगरेको उनी बताउँछिन् । ‘व्यापारिक दृष्टिकोणले मैले यो चलचित्रमा लगानी गरेकी होइन । त्यो हिसाबले त क्राइम-थ्रिलर चलचित्रमा लगानी गर्न गाह्रो छ । तर, यतिबेला महिला केन्द्रित र कन्टेन्टमुखी चलचित्र रुचाइन थालिएको छ । त्यसैले हामीले सामाजिक सन्देशका लागि निर्माण गरौं, मिहेनत गरेर राम्रो भए व्यापारिक रुपमा पनि सफल हुन्छ भन्ने हेतुले काम गरेका हौं’, उनले भनिन् ।

संजोग राईको निर्देशनमा निर्माण भएको ‘देवी’ले बलात्कारको घटना र त्यसमा कानुनले पार्ने प्रभावको कथा उठाएको छ । शिल्पाले बलात्कारको घटनाबारे रिपोर्टिङ गर्ने पत्रकारको भूमिका निर्वाह गरेकी छन् । उनलाई रिपोर्टिङ कसरी गरिन्छ भन्ने ज्ञान पहिला थिएन । यसैले एक दैनिक पत्रिकाकी महिला पत्रकारसँग भेट गरेर उनले छायांकनभन्दा अगाडि रिपोर्टिङको अनुभव सुनेकी थिइन् । त्यसले चरित्र निर्माण गर्न ठूलो सहयोग पुगेको उनले बताइन् ।

एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको चलचित्रको लागी निर्माण टिमले सार्वजनिक प्रदर्शनका लागि बाँसुरी फिल्म्ससँगको सहकार्य गरेको छ ।
चलचित्रमा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्