दया र मिरुनाको बर्षको दोश्रो हिट, ‘घरज्वाइँ’ ले पूरा गर्यो ५१औं दिन
मगर समुदायमा प्रचलित घरज्वाइँ संस्कृतिको कथामा आधारित भएर बनेको चलचित्र ‘घरज्वाइँ’ घरेलु बक्स अफिसमा प्रदर्शनको ५१औं पार गरेको छ। असार २८ गतेबाट रिलिज भएको चलचित्रले दर्शकको राम्रो साथ पायो। झरी, ठुला बिदेशी चलचित्रको चुनौतीले चलचित्र प्रदर्शनमा असर गर्छ भन्ने प्रदर्शक र चलचित्र मेकरको भ्रम पनि यो चलचित्रले तोडीदियो।
शनिबार मल्टीप्लेक्स चेन आइएनआईको नयाँ बसपार्क, नयाँ बानेश्वर र बुटवलका तीनवटा हल, गोंगबुस्थित बिएसआर मुभिज, सामाखुसीमा रहेको क्यूएफएक्स चेनको सिटी स्क्वायर हल र नेपालगन्जस्थित सिने रोयल हलमा चलचित्रले ५१औं दिन मनायो। चलचित्रले हालसम्म ६ करोड बढीको व्यापार गरेको बताइएको छ। झन्डै २ करोडको लगानी रहेको बताइएको चलचित्रले घरेलु बक्स अफिसबाट नै लगानी उठाउदै यो बर्षको अर्को हिट चलचित्र बनेको छ । बिदेशी बजारबाट पनि चलचित्रले राम्रो आम्दानी गरेको बताइएको छ।
अनिल बुढा मगरले निर्देशन र जनक घर्ती मगरले निर्माण गरेको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, शिशिर बाङ्देल लगायतको अभिनय छ । यो बर्ष दया र मिरुनाको जोडीले ‘मनसरा’ र ‘घरज्वाइँ’ दुई हिट चलचित्र बक्स अफिसमा हिट दिईसकेका छन्।