तीजबाट तिहारसम्म व्यस्त रहेको चलचित्र रिलिज क्यालेन्डर, यस्ता छन् अपेक्षित चलचित्रको लिष्ट


बिदा र चाडपर्व नेपाली चलचित्र क्षेत्रका लागी स्वर्णिम समय हुँदै आएको छ। हरेक बर्ष दशैं, तिहार, शिवरात्री र नयाँ बर्षको समय नेपाली चलचित्र व्यवसायिक हिसाबले सफल हुँदै आएका छन् । यो बर्ष दशैं र तिहारको समय चलचित्र प्रदर्शक र दर्शक दुवैको लागी निकै व्यस्त हुने देखिएको छ। एक पछि अर्को चलचित्रले आफ्नो रिलिज मिति तय गरिरहेका छन्। दशैँ र तिहार सम्म ठुला भनिएका आधा दर्जन बढी चलचित्र रिलिजको लाइनमा रहेका छन्।


भदौ महिनामा केहि आसा गरिएका चलचित्र रिलिज तयारीमा छन्। भदौ १४ गते मिलन चाम्स निर्देशित र आंचल शर्मा र विवेक कर्माचार्य अभिनित ‘वर एण्ड बधु’ रिलिज हुँदैछ।

भदौ २१ मा बर्षको अर्को प्रतिक्षित चलचित्र ‘रावायण’ रिलिज हुँदैछ। पल शाह, पूजा शर्मा र प्रियंका कार्की मुख्य भूमिकामा रहेको चलचित्रको प्रचार सामाग्रीले इन्टरनेटमा आगो बालिरहेका छन्।

असोज ३ मा धिरज मगर र उपासना सिंह ठकुरी प्रमुख भूमिकामा रहेको चलचित्र ‘खुस्मा’ रिलिज हुँदैछ। दुवैको जोडीलाई दर्शकले रुचाइरहेका छन्।

असोज १७ गते घटस्थापनाको दिन निश्चल बस्नेत र स्वस्तिमा खड्काको लगानी र निर्माण रहेको चलचित्र ‘बेहुली फ्रम मेघौली’ रिलिज हुँदैछ। स्वस्तिमा अहिलेकी सर्वाधिक सफल अभिनेत्री हुन् भने निश्चलको फ्यान क्रेज बबाल रहेको छ । प्रचार सामग्रीले पनि दर्शकको राम्रो साथ पाइरहेको छ।

असोज २४ गते फूलपाती यो बर्ष सर्वाधिक व्यस्त र प्रतिष्पर्धात्मक हुने देखिएको छ। दिपक-दिपा समूहको ‘छक्का पन्जा ५’ जितु नेपालको ‘ज्वाई साब’ र विराज भट्टको ‘१२ गाउँ’ रिलिजको तयारीमा रहेका छन्। यो भिडन्तलाई यो बर्ष सर्वाधिक चासोका साथमा हेरिएको छ।

तिहारमा पनि चलचित्र रिलिजको लर्को रहेको छ। कार्तिक ९ गते समुन्द्र भट्ट निर्देशित र नाजिर हुसैने अभिनित ‘गुन्यो चोल्हो (गुलाबी)’ रिलिज हुँदैछ। कार्तिक १५ मा दुई स्टार अभिनेता प्रदिप खड्का र पल शाहको भिडन्त हुने देखिएको छ। प्रदिपको ‘एक्टर’ र पलको ‘मायावी’ एकै मितिमा रिलिज हुने भएका छन्।

यसरी तीज बाट सुरु भएको नेपाली चलचित्रको व्यस्तता तिहार सम्म स्पष्ट देखिएको छ। रिलिज तयारीमा रहेका यी सवै चलचित्रलाई बिशेष रुपमा हेरिएको छ । अब बक्स अफिसमा कसले तहल्का पिट्ने हो त्यो भने तिहार पछि समिक्षा गरौला।

प्रतिक्रिया दिनुहोस्