आंचललाई भदौमा तीन चलचित्रको सुटिङ्ग र प्रमोशनलाई समय मिलाउनुपर्ने चुनौती


अभिनेत्री आंचल शर्मालाई अबको महिना निकै सकसपूर्ण हुने देखिएको छ। यो महिना उनी आफ्नो करियारका महत्वपूर्ण मानिएका तीन चलचित्रको सुटिङ्ग गर्दैछिन्। उनको सेड्युलमा ‘जेरी अन टप’, ‘पिताम्बर’ र ‘दुखी आत्मा’ को सुटिङ्ग रहेको छ भने भदौ १४ गतेबाट रिलिज हुने चलचित्र ‘वर एण्ड बधु’ को प्रमोशनलाई समय मिलाउन पर्ने प्रेसर पनि रहेको छ।

मल्टिस्टारर चलचित्र ‘पिताम्बर’ भदौ १ गतेबाट फ्लोअरमा जाने तयारीमा रहेको छ। कृषा चौलागाई निर्देशित चलचित्रमा सौगात मल्ल, प्रदीप खड्का, आँचल शर्मा, प्रमोद अग्रहरी, अनुप विक्रम शाही, दिव्य देव, सुरक्षा पन्त, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, गौरव बिष्ट र बिशाल पहारीको अभिनय रहेको छ। चलचित्रको पहिलो चरणको सुटिङ्ग सम्पन्न भैसकेको छ। यो चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचिरहेका छन्। पुरुषोत्तम यतिबेला ‘कार्साङ्ग’ को सुटिङ्गमा व्यस्त रहेको कारणले ‘पिताम्बर’ को सेड्युल केहि तलमाथी हुन सक्छ। दुवै चलचित्रमा निर्मातासंग पुरुषोत्तमले निर्माण सहकार्य गरेका कारण समय मिलाउन पर्ने देखिन्छ।

भदौ ३ गतेबाट चलचित्र ‘जेरी अन टप’ सुटिङ्गमा जाने तयारीमा रहेको छ। सुयोग गुरुङ्गको निर्देशनमा तयार हुने चलचित्रमा आंचलको साथमा अनमोल केसी र जसिता गुरुङ्गको मुख्य भूमिका रहेको छ। यो चलचित्रलाई सरोज न्यौपानेले निर्माण गर्नेछन्।

भदौको तेश्रो हप्ताबाट ‘दुःखी आत्मा’ फ्लोअरमा जाने निर्देशक दिपेन्द्र लामाले बताएका छन्। तीन चलचित्रको सुटिङ्ग एक महिनामा भ्याउने मात्र हैन चलचित्र ‘वर एण्ड बधु’ को प्रमोशनलाई समय दिनुपर्ने चुनौती आंचललाई रहेको छ।
उनी यतिबेला श्रीमान उदिप श्रेष्ठको साथमा अमेरिकामा ‘मिस नेपाल नर्थ अमेरिका’ को फिनालेमा सहभागी हुन पुगेकी छिन्। यसको फिनाले आज सम्पन्न भएको छ । अव नेपाल आएर आफ्नो सेड्युल कसरी मिलाउछिन्, त्यो भने हेर्न बाँकि रहेको छ।

प्रतिक्रिया दिनुहोस्