प्रदिप र दिव्याको ‘एक्टर’ सुटिङ्ग सम्पन्न, तिहारमा रिलिज तय


प्रदीप खड्का मुख्य भूमिकामा रहेको चलचित्र ‘एक्टर’ को छायांकन सम्पन्न भएको छ । चलचित्रको छायाँकन गत बैशाख महिनाको अन्त्यतिरबाट पोखराको विन्ध्वासिनी मन्दिरमा पुजा गर्दै सुरु गरिएको थियो । दुई चरण गरी ४५ दिनमा चलचित्रको छायांनक पुरा भएको हो ।

पोखरामा १० दिन खिचेपछि काठमाडौंमा ३५ दिन छायांकन गरिएसँगै चलचित्रको एउटा गीत खिच्न बाँकी राख्दै सम्पूर्ण छायांकन सकिएको निर्माता थमन कुमार भण्डारीले जानकारी दिए । ’समय लगाएरै चलचित्रको छायांकन सकिएको छ, सुटिङ अवधिभर कलाकार र प्राविधिकहरुको साथ मिल्नाले सोचे अनुरुप नै काम सक्काइयो, अब बाँकी गीतको छायांकन युरोपमा गर्ने सोचमा छौं’, निर्माता भण्डारीले भने ।

राजन भुसालको डेब्यु निर्देशनमा बनेको चलचित्रमा प्रदीप र दिव्या रायमाझी, राजबल्लभ कोइराला, आना शर्मा, सुशील सिटौला, दिव्य देव, उषा रजक, प्रदीप चौधरी ’पिके’, बादल भट्ट, अनोज पाण्डे, सुप्रज्ञा शर्मा, सिर्जना अधिकारी लगायतको अभिनय रहेको छ । दिव्याको भने यो पहिलो चलचित्र हो । राजबल्लभले यही चलचित्रबाट करिब दश वर्षपछि कमब्याक गरेका छन् ।
अदृत फिल्मसको प्रस्तुतिमा मोती फिल्मस्को निर्माण रहेको यो चलचित्रमा थमन कुमार भण्डारीको लगानी छ । एनिस भुसाल सह-निर्माता रहेको यो चलचित्रको क्रियटिभ प्रोड्युसर मोती कार्की हुन् । यो चलचित्र यस वर्षको तिहारको अवसर पारेर कात्तिक १५ गते लक्ष्मीपूजामा रिलिज हुने छ ।

प्रतिक्रिया दिनुहोस्