जितु र नीतिको ‘ज्वाइँ साब’ सुटिङ ३० दिनमा सकियो


चलचित्र ‘ज्वाइँ साब’को छायांकन सकिएको छ । चलचित्रका निर्देशक बसन्त निरौलाका अनुसार २३ दिन चित्लाङ र ७ दिन चितवनमा खिचेपछि एक महिनामा चलचित्रको छायांकन सकिएको हो । छायांकन सके सँगै चलचित्रको निर्माण टिम पोष्ट प्रोडक्शनको काममा जुटेको निर्देशक निरौलाले बताए।

चलचित्रमा जीतु नेपाल र नायिका नीति शाह मुख्य भूमिकामा छन् । उनीहरुको साथमा वुद्दि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि बैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे लगायतका कलाकारको अभिनय छ ।
निर्देशक निरौलाले भने–‘जीतु र नीतिलाई दर्शकले विशेष अवतारमा देख्न सक्नुहुनेछ । यसैले सुटिङ सेटबाट कुनै पनि लुक्स गेटअप सार्वजनिक गरेका छैनौं ।’

राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको चलचित्रमा मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण भएको चलचित्रमा विजय बस्याल कार्यकारी निर्माता रहेको छन्।

प्रतिक्रिया दिनुहोस्