नीता र हरिहरको ‘ह्रस्व दीर्घ’ मा रेखा थापाको इन्ट्री


चलचित्र ‘ह्रस्व दीर्घ’ मा कलाकारको भिड रहेको छ। पुराना देखि नयाँ , नेपाली देखि भारतीय कलाकारको जम्बो टोली यो चलचित्रमा रहेको छ। कलाकारको भीड रहेको यो चलचित्रमा अब नायिका रेखा थापाको इन्ट्री भएको छ । कलाकारहरुको लाइनअपका कारण नै चर्चामा रहेको यो चलचित्रमा रेखाको प्रवेशसँगै झनै चर्चा बढेको छ।

निर्माणपक्षले रेखा थापाको भूमिका छायांकन गरिसकेको छ । चलचित्रमा रेखाको छोटो तर महत्वपूर्ण भूमिका रहेको बताइएको छ। रेखाबाट दर्शकले ठूलो सरप्राइज पाउने दाबी निर्माण टिमले गरेको छ । असोजको ३ गतेबाट चलचित्र रिलिजमा आउँदैछ ।

यो चलचित्रको एउटा गीतको छायांकनका लागि यसको टिम मुम्बई जाने तयारीमा छ । मुम्बईमा एउटा डान्सिङ नम्बरको छायांकन हुनेछ, जसलाई बलिउडका कोरियोग्राफरले कोरियोग्राफी गर्नेछन् ।

नीता फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यो चलचित्रमा नीतासँगै हरिहर अधिकारी, दक्षिण भारतीय कलाकारहरू ब्रम्मानन्दम, अली, सुनिल बर्मा, कविर दुहानको अभिनय छ । यस्तै, बलिउड कलाकार प्रदीप राउतलाई पनि चलचित्रमा देख्न सकिन्छ ।
चलचित्रमा नेपाली कलाकारहरू विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल, संचिता लुइँटेल, वुद्दि तामाङ, किरण केसी, रविन्द्र झा लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्